खोटाङको धितुङमा सामूहिक लिची खेती

रासस
६ श्रावण २०७७, मंगलवार ०९:३५

साउन, खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरूपमा व्यावसायिक लिची खेती सुरु गरेका छन् । लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बरबोटे बिजवृद्धि कृषक समूहमा आबद्ध किसानले बन्दाबन्दीको अवधिमा बयाखुखोला नजिकैको २ सय रोपनी जग्गा भाडामा लिएर २ हजार बोटभन्दा बढी लिचीको बिरुवा रोपेका हुन् ।

गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ धितुङका स्थानीय बासिन्दाले १५ वर्षदेखि बाँझिएको जग्गामा पलाएको झाडी फँडानी गरेर खाल्डो खनेर लिचीको बिरुवा रोपेका छन् । सहर बजारमा बसिरहेका युवा बन्दाबन्दीको समयमा गाउँ आएपछि सामूहिकरूपमा बाँझो जग्गामा लिची खेती सुरु गरेका हुन् ।

लामो समयदेखि बाँझिएको व्यक्तिको जग्गा भाडामा लिएर व्यावसायिकरूपमा लिची खेती लगाइएको कृषक समूहका अध्यक्ष राजेश राईले बताए । लिचीले उत्पादन दिन थालेपछि तीन भाग लगाएर १ भाग जग्गाधनीलाई दिने शर्तमा जग्गा भाडामा लिइएको कृषक समूहले जनाएको छ । उत्पादनको ३ भागमध्ये १ भाग लगानीकर्तालाई र १ भाग मलजल गर्ने हेरालुलाई दिइने सहमति गरिएको कृषक समूहका अध्यक्ष राईले बताए ।

कृषि ज्ञान केन्द्र खोटाङले उपलब्ध गराएको ८ लाख रुपैयाँ अनुदानमा किसानको ८ लाख रुपैयाँ थप गरेर धितुङमा लिची खेती बिस्तार गर्न लागिएको हो । बन्दाबन्दीको समयमा गाउँ आएका जिल्लाका विभिन्न ठाउँका स्थानीय युवाले बाँझिएको जग्गा फँडानी गरेर खेती बढाउने, लिची, आँप, केरा, कागती, ड्रागन फ्रुटलगायतका फलफूलका बोटबिरुवा रोप्ने काम गरिरहेका छन् ।

महामारीका समयमा गाउँलाई नै सुरक्षित थलोका रूपमा देखाएकाले गाउँ फर्केका अधिकांश स्थानीय बासिन्दा गाउँमै केही गर्नुपर्नेमा अग्रसर देखिएका छन् । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*