जोखिम रहेकै बेला लकडाउन अन्त्य, संक्रमण छिट्टै फैलन सक्ने स्वास्थ्यविज्ञको चिन्ता

तामसालिङ खबर
७ श्रावण २०७७, बुधबार ०९:१४

साउन, काठमाडौं – कोरोना संक्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै वेला सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । उच्च सतर्कता नअपनाए अब घनाबस्ती भएको उपत्यकालगायतका ठाउँमा संक्रमण छिट्टै फैलने चिन्ता स्वास्थ्यविज्ञहरूले गरेका छ ।

मन्त्रिपरिषद्को मंगलबारको निर्णयले ११ चैतदेखि लागू गरिएको लकडाउन ६ साउनको राति १२ बजेदेखि अन्त्य भएको छ । सवारीसाधनको जोर–बिजोर प्रणाली हटाउने र सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने सरकारको निर्णय छ ।

१५ साउनदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन गरिने छन् । त्यस्तै, स्वास्थ्य मापदण्ड पालना गरी १ भदौदेखि लामो दूरीका सार्वजनिक यातायात तथा हवाई सेवा सुरु गरिनेछ । सरकारले १ भदौदेखि भर्ना र रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । तर, स्कुल–कलेजमा पठनपाठन भने तत्काल हुने छैन ।

त्यसबारे पछि निर्णय हुने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । लकडाउन खुलाइए पनि शैक्षिक संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन–ब्युटिपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभारभेला, धार्मिक क्षेत्र, पुस्तकालय, संग्रहालय तथा चिडियाखाना, अन्तर्राष्ट्रिय नाका भने बन्द नै रहने छन् । जोखिमका बाबजुद आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै सरकारले लकडाउन खुलाउने निर्णय गरेको हो ।

लकडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी मापदण्ड कायमै रहेको र त्यसको पालना नगर्नेलाई कानुनी कारबाही गरिने मन्त्री युवराज खतिवडाले बताए । स्वास्थ्य मापदण्ड पालना गराउन देशभरि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ । उल्लंघन गर्नेलाई उनीहरूले संक्रामक रोक तथा स्थानीय प्रशासन ऐनअनुसार कारबाही गर्नेछन् । लकडाउन खोल्न हतार भएको चिकित्सकहरूको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले उच्च सावधानी नअपनाए काठमाडौंमा दिल्लीमा जस्तै संक्रमण फैलिने जोखिम रहेको बताए ।

‘हामीले पाँच हजारको परीक्षण गर्दा सबैको नेगेटिभ आयो,’ उनले भने, ‘तर, त्यसको मतलब संक्रमण फैलिएको छैन भन्ने होइन, हामीले ¥यान्डम्ली परीक्षण गरेका हौँ, धेरै परीक्षण गर्नै बाँकी छ, त्यसकारण काठमाडौंजस्तो घनाबस्ती भएको ठाउँमा संक्रमण फैलिने उच्च जोखिम कायमै छ । दिल्लीमै जसरी समुदायमा नजाला भन्न सकिन्न ।’ मास्क नलगाउने प्रवृत्ति सर्वसाधारणमा देखिएको र धेरै स्थानमा भिडभाड देखिन थालेकाले पनि जोखिम बढेको उनको भनाइ छ ।

डा. रवीन्द्र पाण्डेले पनि व्यापक परीक्षण नगरी लकडाउन खोल्ने सरकारको निर्णय अपरिपक्व भएको बताए । कडाइ नगरे जनस्वास्थ्यमा संकट आउन सक्ने उनको भनाइ छ । भारतमा तीव्र गतिमा संक्रमण फैलिएकाले पनि नेपालमा जोमिम कायमै रहेको विश्लेषण स्वास्थ्य मन्त्रालयको पनि छ । नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*