चेपाङ बस्तीमा आगो लगाएको विरोधमा प्रदर्शन

तामसालिङ खबर
७ श्रावण २०७७, बुधबार ०९:०९

साउन, चितवन – चितवन राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले चितवनको माडी नगरपालिका–९ कुसुमखोलास्थित चेपाङ बस्तीमा आगो लगाएको विरोधमा मंगलबार भरतपुरमा प्रदर्शन गरिएको छ । नेपाल बसोवास बस्ती संरक्षण समाज र अखिल नेपाल क्रान्तिकारी सकुमबासी संघ चितवनको आयोजनामा प्रदर्शन गरिएको हो ।

शनिबार निकुञ्ज र सेनाको टोलीले कुसुमखोलका दुई घरमा आगो लगाउनुका साथै आठ घर हात्ती लगाएर भत्काएका थिए । घर भत्काएपछि उनीहरू बिचल्लीमा परेका छन् । त्यसको चौतर्फी आलोचना भइरहेका वेला मंगलबार प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिका सर्वसाधारणले ‘अधिकार माग्दा दमन गर्ने व्यवस्था गणतान्त्रिक व्यवस्था हुन सक्दैन्, सत्ता र शक्तिको आडमा सुकुमबासीमाथि अन्याय गर्नेहरू दानव हुन्, झुप्रा घरभित्र विभेद सहने शक्ति हुन्छ, तर सीमा नाघेमा विस्फोटन पनि त्यहींबाट हुन्छ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

वर्षातका वेला संरक्षण गर्नुको सट्टा घर भत्काएर बिचल्ली पारेकाले विरोधमा उत्रिनुपरेको नेपाल बसोवास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले बताए । ‘कुसुमखोलाका पीडितलाई न्याय नदिँदासम्म आन्दोलन गर्छौँ,’ उनले भने । घर भत्काएका सर्वसाधारणको तत्काल व्यवस्थापन गर्नुपर्ने देवकोटाको भनाइ छ । त्यस्तै, नेकपा र कांग्रेसको जिल्ला समितिले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरेका छन् ।

वर्षातको समयमा न्यूनतम मानवीयतासमेत नराखी जनविरोधी हर्कत भएको उनीहरूले जनाएका छन् । आगो लगाएका तथा भत्काएका घरको उचित व्यवस्थापन गर्न र क्षतिपूर्ति उपलब्ध गराउन नेकपा र कांग्रेसले माग गरेका छन् । यसमा राष्ट्रिय मानवअधिकार आयोग, जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*