साउनदेखि इम्बोस्ड नम्बर प्लेट जडान हुने

तामसालिङ खबर
२२ असार २०७७, सोमबार ०६:१२

असार, काठमाण्डौं – आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेटको लागि आवेदन फाराम खुलाएको छ।

२०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेपनि नम्बर प्लेट देवनागरीको सट्टा अंग्रेजीमा लेखिएको भन्दै सर्वोच्चमा रिट परेको थियो।

उक्त रिटमाथि प्रथम सुनुवाई गर्दै तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि इम्बोस्ड नम्बर प्लेट लागू नगर्न अन्तरिम आदेश दिएको थियो । गत मंसिर २७ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको उक्त रिट खारेज गर्ने निर्णय गरेको थियो।

के हो नम्बर प्लेट जोड्ने प्रकृया :
यातायात व्यवस्था विभागको अनुसार इम्बोस्ड नम्बरप्लेट आवेदन दिनुपूर्व सवारीको सम्पूर्ण राजस्व चुक्ता भएको हुनु पर्नेछ । राजश्व चुक्ता छ भने विभागको वेव साइट https://dotm.gov.np/ मा गई प्रथम पृष्ठमा रहेको ‘इम्बोस्ड नम्बर प्लेट प्रणाली’ बटन थिची सवारीको सम्पूर्ण विवरण भरी अनलाइन आवेदन फाराम बुझाई आफूले बुझाएको फाराम प्रिन्ट गर्नु पर्नेछ ।

त्यसपछि साउन १ गतेदेखि दुई पाङ्ग्रे सवारीको लागि यातायात व्यवस्था कार्यालय९मोटरसाइकल०, गुर्जुधारामा रहेको ग्लोबल आई एमई बैंकको शाखा अन्य सवारीको हकमा यातायात व्यवस्था कार्यालय ९साना ठूला सवारी० एकान्तकुना, ललितपुरमा इम्बोस्ड नम्बर प्लेट शुल्क वापतको राजस्व जम्मा गर्नु पर्नेछ ।

सवारीको कर चुक्ता सम्बन्धी अध्यावधिक कागजात, नम्बर प्लेट वापतको शुल्क जम्मा गरेको बैंक भौचरको सक्कल प्रति र अनलाइन आवेदन प्रणालीमा उल्लेख गरिएका आवश्यक कागजात सहित अनलाइन आवेदनको प्रिन्ट यातायात कार्यालयमा प्रमाणीकरणका लागि बुझाउनु पर्नेछ ।

इम्बोस्ड नम्बर प्लेटका लागि दिइएको आवेदन सम्बन्धित कार्यालय मार्फत प्रमाणीकरण भए पश्चात मात्र इम्बोस्ड प्लेट छाप्ने प्रकृया शुरु हुनेछ र प्लेट तयार भएको जानकारी सम्बन्धित आवेदकलाई एसएमएस मार्फत गराइने विभागले जनाएको छ ।

इम्बोस्ड प्लेट जडान गर्न आफूलाई उपयुक्त हुने मिति आवेदकले एसएमएस मार्फत नै रोज्न सक्नेछन् ।

प्रणालीबाट निर्धारित भई एसएमएसमार्फत आवेदकलाई जानकारी गराइए अनुसारको मितिमा निजी सवारीको हकमा सवारी धनि स्वयं उपस्थित भई आफ्नो बायोम्याट्रिक विवरण उपलब्ध गराई तथा सरकारी वा संस्थानको स्वामित्वमा रहेका सवारीको हकमा आधिकारिक प्रतिनिधि उपस्थित भई देहायका स्थानबाट सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*