सलह सिद्रा माछाभन्दा पोषिलो हुन्छ – कृषिविद राई

तामसालिङ खबर
१६ असार २०७७, मंगलवार ०८:३९

असार, काठमाडौं – भारतको बिहार र उत्तर प्रदेश हुँदै सलहको बथान नेपाल छिरेपछि यसलाई नियन्त्रण गर्ने उपायबारे अहिले अनेक बहस भइरहेका छन्। कृषि मन्त्रालयले नेपालमा सलह आउँदै नआउने दाबी गरिरहेका बेला शनिबार बारा, सर्लाही, रुपन्देही र कपिलवस्तुसहितका जिल्लामा सलहको ठूलो समूह देखियो। उक्त समूहले अन्यत्र भन्दा रुपन्देहीमा केही बढी क्षति गरेको बताइएको छ।

सलहको समूह दक्षिणबाट उत्तरतर्फ चलिरहेको हावाको बेगसँगै शनिबार राति नै पहाडी जिल्लामा पुगेको छ। भारतमा रहेको सलहको बथानमा थोरै मात्रामा नेपाल छिरेकाले क्षति कम गर्ने दाबी कृषि मन्त्रालयले गरेको छ। प्रदेश ५ सरकारले त शनिबारै सलह समातेर ल्याएमा प्रतिकेजी २० रुपैयाँ दिने घोषणा नै गरेको छ। सलह नियन्त्रणको उपाय खोजिरहेका बेला कृषिविद् मदन राईले विषादी हालेर नमार्न आग्रह गरेका छन्।

उनले विषादी हालेर मार्नुभन्दा समात्न आग्रह गरेका छन्। खोटाङमा नै आधुनिक पद्धति अपनाएर उनले कृषि कर्म गरिरहेका छन्। राईले सलह सिद्रा माछा भन्दा पनि पोसिलो हुने बताएका छन्। ‘सिद्रा माछा भन्दा पोसिलो छ सलह’, उनले भनेका छन्, ‘दाना बनाउन काइदा हुन्छ। कसैले समात्यो भने म एक हजार केजीलाई ताजा सुकाएको दुवैलाई १ लाखमा किनिदिन्छु।’

उनले सलह रोक्न समात्ने उपाय नै सही रहेको पनि बताएका छन्। ‘सरकार! सलह रोक्न विष नछर्क। केजीको ५० देखि १०० रुपैयाँ दिने व्यवस्था गरि देऊ, सबै सकिन्छ’, उनले भनेका छन्, ‘मान्छेको खाना र पशुपंछीको दानामा गजब हुन्छ।’ – थाहाखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*