लकडाउन खुकुलो भएसँगै काठमाडौं भित्रिने बढे

तामसालिङ खबर
२ असार २०७७, मंगलवार १३:४०

असार २, काठमाडौं – सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ । त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ ।

उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ । महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले उपत्यकामा लकडाउन खुकुलो गरेपछि नाकाहरूमा ओहोरदोहोर गर्नेको भीड बढेको बताए । उनका अनुसार बिनापास उपत्यका छिर्न खोज्ने एक सय १५ जनालाई सोमबार फिर्ता गरिएको छ ।

एक सय पाँचजना पास देखाई उपत्यकामा प्रवेश गरेका छन् । तर उपत्यकामा पसल सञ्चालन गरेको र थानकोटनजिकै बसेको भन्दै केहीले बहाना पनि बनाउने गरेका छन् । प्रहरीले बिनापास टाढाबाट आए पनि फर्काउने भएकाले पास जारी गरेर मात्रै उपत्यका प्रवेश गर्न सबैलाई आग्रह गरेको छ । ‘पास नलिईकन आउने सवारीसाधनलाई हामीले उपत्यका छिर्न दिएका छैनौं,’ उनले भने, ‘तर उपत्यकामा खुकुलो पारेसँगै त्यसकोे प्रत्यक्ष असर नाकामा परेको छ ।’

त्यस्तै भक्तपुर प्रवेश गर्ने साँगा नाकाबाट पनि उपत्यका प्रवेश गर्नेको संख्या बढेको छ। सोमबार मात्रै भक्तपुरको जगाती नाकाबाट तीन हजार बढी सवारीसाधन उपत्यका प्रवेश गरेको प्रहरी वृत्त जगातीले जनाएको छ । प्रहरीले सीमित व्यक्तिहरूलाई मात्रै उपत्यका प्रवेश गर्न दिइएको बताए पनि प्रत्यक्षदर्शीले निर्बाध तवरले मानिसहरू उपत्यका छिरेको बताउँछन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार उपत्यकाका विभिन्न नाकाबाट १२ हजारभन्दा बढी यात्रु प्रवेश गरेका छन् । प्रहरीले पास हेरेर मात्रै उपत्यका प्रवेश दिएको छ । तर भित्रिनेको संख्या धेरै रहेकाले प्रहरीलाई समेत दबाब परेको छ ।

लकडाउन सुरु भएको झन्डै तीन महिनापछि उपत्यकामा चहलपलह बढेको छ । अधिकांश सरकारी कार्यालय खुल्नेगरी सरकारले सरकारले सोमबारदेखि जोरबिजोर लागु गरी सवारीसाधन आवतजावतलाई अनुमति दिएको थियो । समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*