हेटौडामा तयार भएको कोरोना भाइरसविरुद्ध खोपको परीक्षणमा ढिलाइ

सुरेश झा
२९ जेष्ठ २०७७, बिहीबार ०९:५८

जेठ, हेटौँडा – नेपाली अनुसन्धानकर्ता डा. ललितकुमार दासले कोरोना भाइरसविरुद्ध विकास गरिएको औषधि (खोप) को प्रयोगात्मक परीक्षणको प्रक्रियामा ढिलाइ हुँदा हेटौँडावासी चिन्तित भएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानका सहप्राध्यापक डा. दासले कोरोना भाइरसविरुद्ध खोप विकास गरेको एक हप्ताभन्दा बढी भएपनि हालसम्म त्यसको प्रयोगात्मक परीक्षण हुन नसक्दा उनीहरु चिन्तित बनेका हुन् ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)विरुद्ध खोपको निराशाजनक रुपमा आगमनको आशामा विश्व रहेको बेला सम्भावित खोपको पहिलो चरणको विकास हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा गरिएको छ ।

“नेपाली अनुसन्धानकर्ताले कोरोना भाइरस विरुद्ध खोपको विकास गर्नु हाम्रा लागि गौरबका विषय हुन्, यसको छिटोभन्दा छिटो परीक्षण हुनुपर्छ”, हेटौँडा–४ का रामप्रसाद अधिकारीले भन्नुभयो, “अहिले खोपको व्यापक चर्चा छ । खोप त बन्यो तर यसको प्रयोगका लागि सरकारको सम्बन्धित निकायले यथाशीघ्र परीक्षण गरेर त्यसको नतिजा सार्वजनिक गर्न सक्नुपर्दछ ।” दुई महिनाभन्दा बढी समयको अथक प्रयास र अनुसन्धान गरेर डा दासले उक्त खोपको विकास गर्नुभएको हो ।

खोप निर्माण भइसकेपछि वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले डा दाससँग आफ्ना मन्त्रालय मातहतका सचिव तथा विशेषज्ञसँग छलफल गर्नुभएको थियो । त्यसपछि मन्त्री दुलालले नेपाल स्वास्थ अनुसन्धान परिषद्का विशेषज्ञसँगसमेत भिडियोकन्फ्रेन्समार्फत त्यसको परीक्षण गराउने सम्बन्धमा छलफल गर्नुभएको थियो । तर अहिलेसम्म त्यसको परीक्षण हुन नसक्दा सर्वत्र गुनासो बढेको पाइएको छ ।

खोप विकास भएको सार्वजनिक भएपछि उक्त प्रयोगशालामा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय विभिन्न सञ्चारमाध्यमका पत्रकारको भीड हुने गरेको सो अध्ययन संस्थानका अर्का सहप्राध्यापक दामोदर गैरेले भन्नुभयो । जडीबुटी विशेषज्ञ एवं उक्त खोप विकासमा सहयोगी रहेका प्राध्यापक गैरेले उक्त औषधि (खोप) कहिले परीक्षण गराउने हो त्यस विषयमा पत्रकारको जिज्ञासा अत्यधिक रहेको छ ।

वनारसको हिन्दू विश्व विद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी गर्नुभएका डा दासले कोरोना भाइरस नियन्त्रणका लागि केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको प्लान्ट लिएर सोध गरी उक्त औषधिको विकास गर्नुभएको हो । विभिन्न १५ किसिमको स्वास्थ्यवद्र्धक जडीबुटीबाट यो खोपको विकास गरिएको बताइएको छ । उक्त खोपको परीक्षण कहिलेदेखि हुन्छ भनी राससको जिज्ञासामा डा दासले नेपाल सरकारको माध्यमबाट छिटो परीक्षण हुने र त्यसका लागि सामाजिक विकास मन्त्री दुलाल लाग्नुभएको प्रतिक्रिया दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत विकास गरिएको खोप सम्बन्धमा डा दाससहित ७३ राष्ट्रसँग भिडियो कन्फ्रेन्समार्फत् छलफल गरी आवश्यक सुझाव समेत दिइएको छ । त्यसपछि यो खोपप्रति नेपाली जनताको चासो बढ्दै गएको छ । अहिले सो प्रयोगशालामा खोप सम्बन्धी जानकारी लिनका लागि भीड लाग्ने गरेको त्यहाँका कर्मचारी बताउँछन् । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*