असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण गरिने

तामसालिङ खबर
२७ जेष्ठ २०७७, मंगलवार ०९:१२

जेठ २७, काठमाडौं – स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९)को पीसीआर विधिबाट परीक्षण गरिने बताउनुभएको छ । संङघीय संसदमा सांसदले सोधेको प्रश्नमा उहाँले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताउनुभयो ।

मेसिन खरिद गरेपछि विदेशबाट दैनिक ठूलो सङख्यामा सर्वसाधारणकोे पीसीआर परीक्षणको व्यवस्था गर्न सकिने उहाँको भनाइ थियो । अहिले मुलुकका २१ स्थानबाट दैनिक चार हजारको सो परीक्षण भइरहेको छ । अहिलेसम्म पीसीआर एक लाख ९७१ र आरडिटी एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको छ ।

नेपालमा तीन हजार ७६२ जनामा सङ्क्रमण, १४ जनाको मृत्यु र ४८८ जना अस्पतालबाट डिस्चार्ज भएका छन । उहाँले सात प्रदेशमा सात ठूला मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले अहिलेको बन्दाबन्दी (लकडाउन)लाई सहजिकरण गर्न विज्ञसँग परामर्श भइरहेको बताउनुभयो । मुलुकमा ७७ दिनदेखि लकडाउन जारी छ ।

उहाँले अहिले विनियोजित बजेट स्वास्थ्य सुधारका लागि पर्याप्त नभएपनि स्वास्थ्य क्षेत्रको बलियो जग बसाल्न सकिने धारणा व्यक्त गर्नुभयो । मन्त्री ढकालले सर्वसाधारण जनतालाई दिइने स्वास्थ्य सेवाको गुणस्तरीय र आम नागरिकको पहुँचमा सेवाको वृद्धि हुने गरी आगामी वर्षमा स्वास्थ्यका कार्यक्रम सञ्चालन हुने विश्वास दिलाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*