हेटौँडा उपमहानगरको सबै वडामा बजेट सिलिङ
जेठ २६, हेटौडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले १ देखि १९ वडामा बजेट सिलिङ पठाएको छ । उपमहानगरपालिकाले पठाएको सिलिङमा सबैभन्दा धेरै बजेट वडा नम्बर १८ मा परेको छ । उपमहानगरपालिकाले १९ वटै वडाको लागि ३२ करोड ९० लाखको बजेट सिलिङ पठाएको मध्ये वडा नम्बर १८ लाई २ करोड ५० लाख रुपैँया रहेको छ ।
त्यस्तै, दोस्रोमा वडा नम्बर १९ रहेको छ, जसको सिलिङ बजेट २ करोड ३० लाख छ । उपमहानगरपालिकाले साविकको गाविसहरु मिसिएको ग्रामिण क्षेत्रका वडाहरुलाई साविकको हेटौँडाको ११ वटा वडा भन्दा प्राथमिकतामा पारेको देखिन्छ ।
उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षको लागि वडा नम्बर १, २, ४, ५, ६, ७, ८, ९, १०, ११ लाई १ करोड ५५ लाखको सिलिङ पठाएको छ । यि सबै वडाहरु साविकको हेटौँडा नगरपालिकाको क्षेत्र हुन् । वडा नम्बर ३, १२, १३, १४, १५, १६, १७ लाई भने १ करोड ८० लाखको सिलिङ पठाएको छ यि वडाहरु हेटौँडा उपमहानगरपालिका बन्दा निर्माण भएका साविकका पदमपोखरी, हटिया, चुरीयामाई तथा बसामाडीका क्षेत्र हुन् ।
लकडाउनले गर्दा यो वर्ष उपमहानगरपालिकाको आम्दानीमा गिरावट देखिने भएपनि आउँदो आर्थिक वर्षमा बजेट नघट्ने उपमहानगरपालिकाले शंकेत गरेको छ । चालु आर्थिक वर्षमा १ अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको थियो ।