चितवनमा बारीमै तरकारी कुहिपछि, थोक बजार खुल्यो

तामसालिङ खबर
२६ जेष्ठ २०७७, सोमबार ११:२०

जेठ, चितवन – लकडाउन कडा हुँदै र कोरोना भाइरसको संक्रमण बढ्दै गए सँगै चैत्र १८ गतेदेखि बन्द भएको क्षेत्रपुरको तरकारी थोक बजार जेठ २३ देखि खुलेको छ । यो बीचमा चितवनका किसानहरुले लगाएको धेरै तरकारी सुकेर वा कुहिएर बारीमै नष्ट भइसकेको छ ।

हरियो र ताजा तरकारी उपभोक्ताको भान्सामा पुग्न सकेन । किसानले खाल्डोमा गाडेर मल बनाउनु पर्ने बाध्यता आयो । अहिले बजार खुलेको छ । तर बारीमा तरकारी छैन । तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार यो थोक बजारमा सामान्य अवस्थामा दिनमै दुई सय टनसम्म तरकारी आउने गर्दथ्यो । अहिले दिनमा दुई टन पनि आएको छैन ।

‘तरकारी टिप्ने बेलामा लकडाउन भयो । रोगको सन्त्रासले विभिन्न खाले शंका उपशंका भयो । तरकारी बिक्री नै भएन । धेरै तरकारी बारीमै नष्ट भयो । अहिले आएर बजार खुलेको त छ तर तरकारी छैन,’ धितालले भने ।

यहाँको थोक बजारमा आउने धेरै तरकारी चितवनकै हुन्थ्यो । यहाँ मात्रै नभएर चितवनको तरकारी सिधै बाहिरी बजारहरुमा पनि जान्थ्यो । पूर्वी चितवन खैरहनी नगरपालिका–१ बहेरामा रहेको ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामा संकलन हुने तरकारी प्रायस् चितवनबाहिर नै जान्थ्यो । संस्थाका अध्यक्ष पूर्णदत्त भुसाल पोखराको बजार सहज भएको भए आफूहरुलाई केही असर नपर्ने बताउँछन् ।

‘दिनमै दुई करोड रुपैयाँ बराबरको तरकारी संकलन हुन्थ्यो । प्रायस् जिल्लाबाहिर जान्थ्यो । लकडाउनसँगै पोखरा जान गाह्रो भयो । पोखरा मात्रै जान पाएको भए पनि हामीलाई ठूलो असर पर्दैन थियो,’ भुसालले भने । सहकारीमा ३८० परिवार आबद्ध छन् । डेढ सय बिघामा तरकारी खेती हुन्छ । फाट्टफुट्ट तरकारी किन्न आउनेले मूल्यसमेत तोक्न नसकेपछि किसानहरुले बारीमै तरकारी नष्ट गरेर धान रोप्ने तयारीमा लागेको उनले बताए ।

भरतपुर–२५ अमृतनगरकै किसान अनुप सुवेदीले १६ बिघा जमिनमा तरकारी खेती गरेका छन् । उनका बाबुले २६ वर्षअघि डेढ बिघाबाट तरकारी खेती सुरु गरेका थिए । चार वर्षयता अनुपले क्षेत्रफल बढाउँदै १६ बिघा पुर्‍याए । तर यो वर्ष सोच्दै नसोचेको विकराल संकट बेहोर्नु पर्‍यो । ‘सिमला मिर्च मात्रै ढेड बिघामा थियो । लकडाउनमा टिप्नै पाइएन,’ सुवेदीले भने । यसबाट मात्रै उनलाई २५ लाख रुपैयाँको नोक्सान भयो ।

भरतपुर–२५ अमृतनगरका अनुप सुवेदीले लगाएको बोडी टिपेर पनि बजार लैजान नसकेपछिेर खेर गएको छ । चिचिण्डा, करेला, बोडी, लौका, टमाटर सबैको यस्तै बेहाल भयो । कति रकमको तरकारी खेर गयो भनेर हिसाबै गर्न नसकेको उनले बताए । व्यवसायिक रुपमा तरकारी खेतीमा संलग्नहरुको ‘किसान चौतारी नेपाल’ नामक संस्था छ । त्यसमा दुई सय किसान आबद्ध छन् । चार सय बिघामा तरकारी खेती भएको छ । थोरै तरकारी खेती गर्नेहरु सहकारीमा आबद्ध छन् ।

जिल्ला ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संघ लिमिटेड चितवनका अध्यक्ष हरिबहादुर थापा १० कट्ठा भन्दा माथि दुई बिघासम्म तरकारी खेती गर्ने किसानहरु सहकारीमा आबद्ध भएको बताउँछन् । २५ सयभन्दा धेरै परिवार तरकारी उत्पादन सहकारीमा आबद्ध छन् । चैत–वैशाख जस्तो मुख्ययाममा नै संकट आएका कारण ठूलो नोक्सानी बेहोरेको हुँदा क्षतिको आकलन गर्न नसकेको अध्यक्ष थापाले बताए ।

‘लाख वा दुई चार करोडको कुरै छैन । करोडौंको नोक्सान भएको छ । यसको लेखाजोखा नै छैन,’ अध्यक्ष थापाले भने । सरकारी निकाय कृषि ज्ञान केन्द्रबाट प्राप्त विवरण अनुसार चितवनमा तरकारी खेती हुने क्षेत्र सात हजार ५० हेक्टर रहेको छ । ९१ हजार मेट्रिक टन तरकारी उत्पादन हुने गर्दछ । तरकारीबाट हुने आम्दानी वर्षको डेढ अर्ब रुपैयाँ रहेको ज्ञान केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिए । – कान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*