हेटौडामा बनेको कोरोना भाइरसविरुद्धको खोपमा डब्ल्युएचओको चासो

तामसालिङ खबर
२३ जेष्ठ २०७७, शुक्रबार ०९:४७

जेठ २३, काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले हेटौँडा स्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ ।

अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोना विरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्स मार्फत नेपाल सहित ७३ राष्ट्रका विज्ञसँग कोरोना विरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा. डा. दासले जानकारी दिए ।

यस अघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाइएको थियो । अध्ययन संस्थानका प्रा. दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा. दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ ।

करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोधिनका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्रा गैरेले जानकारी दिए । ‘सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्युएचओ सँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भयो’, प्रा. गैरेले भने ।

उक्त खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ । प्रा. डा. दासले दुई महिनादेखि कोरोना भाइरस विरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप(औषधि) निर्माण गरेको जिकिर गर्दै आएका छन्। – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*