तामाङ पत्रकारको ‘कोरोना बीमा’को लागि घेदुङ्गद्वारा आर्थिक सहयोग

तामसालिङ खबर
१९ जेष्ठ २०७७, सोमबार १८:३०

जेठ, काठमाण्डौ – नेपाल तामाङ घेदुङ संघिय कार्यसमितिले तामाङ पत्रकारहरूको ‘कोरोना बीमा’ गर्न तामाङ पत्रकार संघलाई आर्थिक सहयोग तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै घेदुङ संघीय कार्यसमितिले ८२ जना तामाङ पत्रकारको बीमा गर्न लाग्ने प्रिमियम शुल्क बापतको ४९ हजार २ सय रुपैयाँ तथा १ सय थान केएन–९५ मास्क तामाङ पत्रकार संघलाई हस्तान्तरण गरेको हो ।

८२ जना तामाङ्ग पत्रकारका लागि प्रतिव्यक्ति १ लाख रुपैयाँ बीमाङ्कको बीमा गर्न लाग्ने ४९ हजार २ सय रुपैयाँ रकम र मास्क नेपाल तामाङ घेदुङ पुरातात्त्विक अनुसन्धान विभाग प्रमुख कुयाङ लामा घिसिङले सहयोग गरेको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए ।

विभागीय प्रमुख घिसिङले यसअघि नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई ५ लाख रुपैयाँ सहयोग गरेका थिए ।

‘कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सरकारले विशेष सुविधा दिएको छ, तर समाचार संकलनका लागि खटिने पत्रकारले त्यस्तो सुविधा नपाइरहेको कारण घेदुङले संस्थागत रूपमा पहल गरी तामाङ पत्रकारहरूको बीमा गर्न सहयोग गरेका हौं,’ उपाध्यक्ष घिसिङले भने, ‘हाम्रो अनुरोधलाई स्वीकारेर सहयोग गर्नुहुने पुरातात्त्विक अनुसन्धान विभाग प्रमुख कुयाङ लामा घिसिङप्रति आभार व्यक्त गर्दछौं ।’

कार्यक्रममा घेदुङकी वरिष्ठ उपाध्यक्ष लामाले कोरोना महामारीका कारण समस्यामा परेकालाई सहयोग गर्न घेदुङले संस्थागत रूपमा निर्णय गरेर अगाडि बढ्ने जानकारी दिइन् । उनले घेदुङमार्फत अगाडि बढाइने सहयोग कार्यक्रममा व्यक्तिगत रूपमा सहयोग गर्नसमेत आफू तयार रहेको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*