नेपालमा विकसित घटनाप्रति भारतको चासो

तामसालिङ खबर
१६ जेष्ठ २०७७, शुक्रबार ०८:४०

जेठ १६, काठमाडौं – भारतले नेपालमा विकसित भैरहेका पछिल्ला गतिविधिहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सीमा मुद्धासँग जोडिएर नेपालमा विकसित भैरहेका घटनाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पारस्पारिक सम्बन्धका आधारमा आफ्ना सबै छिमेकीहरुसँग समान ढंगले सम्बन्ध बिस्तार गर्न भारत तयार रहेको र यसका लागि रचनात्मक र सकारात्मक प्रयासहरू रहने बताइएको छ ।

भारत र नेपालबीच गहिरो ऐतिहासिक, साँस्कृतिक र मैत्री सम्बन्ध रहेको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीचको सम्बन्ध पछिल्ला वर्षहरुमा निकै उचाईमा पुगेको छ, जसका कारण द्दिपक्षीय सहयोग, विकास र कनेक्टिीभिटीमा भारतको सहयोग बढेको स्पष्ट छ ।’

दुई देश बीचको विकसित सम्बन्धका कारणनै ठुला र महत्वपूर्ण परियोजनाहरुको कार्यान्वयन गर्न सकिएको र समयमै परिणामहरु प्राप्त भएको जनाउँदै भारतले पछिल्लो कोभिड–१९ (कोरोना) महामारीमा समेत सहकार्यको आवश्यकता रहेकोमा जोड दिएको छ । कोभिड–१९ कारण सिर्जित यस चूनौतीपूर्ण महामारीमा भारतले मेडिकल सामाग्रीहरुको आपूर्ति सुनिश्चित गरेको समेत जनाएको छ ।

केही दिनअघि भारतले एक पक्षीय ढंगले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबाट तिब्बतको कैलाश मानसरोवरसम्म जोडिने सडकको उद्घाटन गरेपछि दुई देशबीच सीमा विवाद चर्किएको छ । नेपालमा भारतीय कदमको चर्को विरोध भैरहेको छ ।

भारतले सडक उद्घाटन गरेको केही दिनपछि नेपालले पनि सो क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । यसअघि भारतले पनि सो क्षेत्रलाई आफ्नो दाबी गर्दैै नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसयता भारतीय कदमको नेपालमा चर्को विरोध हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*