बागमती प्रदेशको आगामी वर्षको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता

तामसालिङ खबर
१३ जेष्ठ २०७७, मंगलवार १८:२३

जेठ १२, हेटौंडा – आजदेखि बागमती प्रदेशसभाको छैठौं अधिवेशन सुरु भएको छ । बागमती प्रदेशको छैठौं अधिवेशनमा बोल्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षमा पूर्वाधारको क्षेत्रलाई भन्दा पनि कृषि, शिक्षा र स्वास्थ्य तथा रोजगारी क्षेत्रलाई बढी जोड दिइने बताउनुभयो । त्यस्तै विदेशबाट फर्किएका युवालाई र स्वदेशमा रोजागरी गुमाएका युवालाई व्यवस्थापन हुनेगरी बजेट ल्याउने बताउनुभयो । यो वर्षमा पूर्वाधारलाई जोड दिएर बजेट आएको भन्दै आगामी वर्ष कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई जोड दिने उहाँको भनाई छ ।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि तीनै तहको सरकार लागीपरेको बताउनुभएको छ । अहिले कोरोना भाइरसको कारणले विश्वमा विकसित देशसँगै अन्य देशहरुमा जनजिवन ठप्प भएको भन्दै नेपालको अर्थतन्त्रमा पनि यसको ठुलो असर देखेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले कोरोना विरुद्ध लड्न उच्च एकताका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले कोरोना नियन्त्रणको लागि सक्दो प्रयास गरिरहेको भन्दै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकिर्मी, सुरक्षाकर्मीहरुको कामको प्रशंसा गर्नुभएको छ । उहाँले विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप बनाउन लागीपरे पनि ठोस उपलब्धि नभएको बताउनुभयो ।

यस्तै मुख्यमन्त्री डोरमणि पौडेलले सिमासुरक्षा बलियो बनाउन सम्पूर्ण नेपालीहरुको सहयोग आवश्यकता रहेको बताउनुभयो । भारतले नेपालको लिपुलेक हुँदै तिब्बतको मानसरोबर जाने सडक निर्माण गरेको भन्दै त्यस्ता नेपालको सबै भूमि सरकारले फिर्ता लिने जानकारी गराउनुभयो । सबै दलको साथ र सहयोगले सरकारले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानि समेटेर नयाँ नक्सा जारी गरेकोप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले नेपालको भूमि लिपुलेक, कालापानि र लिम्पीयाधुरा समेटेर नक्सा जारी गरेको प्रति सम्मान व्यक्त गर्दै भारतीय मिडियाले नेपालप्रति गरेको टिप्पणीको घोर भत्सर्ना गर्नुभएको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता बानियाँले कोरोना भुसको आगो जस्तै सल्केको भन्दै यसलाई नियन्त्रण गर्न प्रदेश सरकाले कोरोना नियन्त्रण कोषमा जम्मा गरेको ५० करोड परिचालन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले बनाइएको आइसोलेसन र क्वारेन्टाइमा शौचालय र पानीको राम्रो व्यवस्था नभएका कारण संक्रमितहरु बस्न नमानेको पनि बताउनुभयो ।

हेटौंडाको कोरोना ल्याबमा १ हजारको टेस्ट हुँदा किटको अभवामा सांसदहरुको पनि रिपोर्ट आउन नसकेको भन्दै प्रदेश सरकार गम्भिर हुनुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । यस्तै उहाँले राहतको नाममा दाल, चामल बाँडेर फोटो मात्रै खिच्ने नभएर प्रदेश सरकारले गरिब, विपन्न वर्गलाई राहत स्वरुप केही रकम दिन सक्नुपर्ने बताउनुभयो । यता भारतको सिमाहरुमा रहेको प्रदेशबासीहरु र विदेशमा रहेका प्रदेशबासिहरुलाई उद्धार गर्न प्रदेश सरकारले कदम चाल्नुपर्ने नेता बानियाँको भनाई छ ।

बागमती प्रदेशको छैठौं अधिवेशनमा प्रदेश प्रहरी सेवा विधयेक सभामा पेश भएको छ । आन्तरिक मामिल तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले यो बिधेयक सभामा पेश गर्नुभएको हो । त्यस्तै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले वातावरण संरक्षण सम्बन्धी भएको अध्यादेश भएको विधेयकको स्वीकृतीका लागि सभामा पेश गर्नुभएको छ ।

आज बसेको प्रदेश सभाको अधिवेशनमा प्रदेशका अर्थमन्त्री कैलाश प्रसाद ढुङ्गेलले अगामी वर्षको लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको थियो । आजदेखि सुरु भएको अधिवेशनको सांसदहरु अष्टलक्ष्मी शाक्य, रमेश पौडेल, सुरेन्द्रराज गोसाई, रीता माझी र रीना गुरुङले अधिवेशनको सफलताको शुभकामना मनतव्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*