मनहरी बजार बिहान तीन घण्टा खुल्ने

तामसालिङ खबर
७ जेष्ठ २०७७, बुधबार ०८:१८

जेठ ६, हेटौडा (मनहरी) – मकवानपुरको पश्चिम क्षेत्रको मनहरी गाउपालिकामा पसल खोल्ने समय परिबर्तन गरेको छ । मनहरी गाउँपालिकास्तरीय अनुगमन समितिले मनहरी बजारमा खाद्यान्न तथा तरकारी पसलहरु खोल्ने समय परिवर्तन गर्ने निर्णय गरेको हो ।

यसअघि हरेक साताको आइतबार र बिहिबार बिहान १० बजेदेखि ४ बजेसम्म मात्र खाद्यान्न तथा तरकारी पसल खोल्ने निर्णय भएकामा अब हरेक दिन बिहान ६ देखि ९ बजेसम्म त्यस्ता पसलहरु खुल्ला हुनेछन् । खाद्यान्न लोड/अनलोड गर्नका लागि थप एक घण्टा अर्थात १० बजेसम्म समयसीमा निर्धारण भएको छ । यो अबधिमा स्थानीय तहको सिफारिसका आधारमा निर्माण सामग्रीहरु पनि लोड अनलोड गरिने बताइएको छ ।

समितिकी संयोजक मनिला बिष्टको अध्यक्षतामा इलाका प्रहरी कार्यालय मनहरीमा बसेको बैठकले लकडाउन कार्यान्वयन कडाई गर्ने निर्णय गरेको हो । यसअघि सातामा दुई दिन मात्रै खाद्यान्न र तरकारी पसल खोल्दा मनहरी बजारमा भीडभाड भएको र हाटबजारजस्तो देखिएको भन्दै सर्बत्र आलोचना भएको थियो ।

त्यस्तै, अब खाद्यान्न र तरकारी बोक्ने अटोहरुले यात्रु बोक्न पाउने छैनन् । अटोहरुका यात्रु बोक्ने पछाडिको सिट झिकेर मात्रै खाद्यान्न र तरकारी ढुवानी व्यवस्था गर्न पाउनेछन् । ढुवानीका लागि आउने अटोहरु मनहरी बजारको पूर्वतर्फ पुलपारि (बेलुवा) मा नै रोकिनेछन् भने पश्चिमतर्फका अटोहरु इलाका प्रहरी कार्यालय छेवमा प्रहरीले रोक्नेछ । सामान खरिद गरिसकेपछि खरिदकर्ताको बोलाएपछि मात्रै अटोहरु बजारमा प्रवेश गर्न पाउनेछन् ।

त्यसैगरी सामाजिक दुरी कायम गरेर मात्र खाद्यान्न र तरकारी बिक्री गर्न व्यवसायीहरुलाई अनुरोध गरिएको छ । एकपटकमा एकजना मात्रै ग्राहकलाई बिक्री गराउने र एउटा मात्र अटो वा साना सबारी साधनमा लोड/अनलोड गर्ने व्यवस्था मिलाउन व्यवसायीहरुलाई निर्देशन दिने बैठकले निर्णय गरेको    छ ।

बैठकले राजमार्ग छेउका होटलहरु खुलम्खुल्ला रहेको पाइएको त्यस्ता होटलहरुमा बाहिरबाट आएका व्यक्तिहरुले खाना र खाजा खाने गरेकाले संक्रमण फैलन सक्ने भन्दै बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ । मनहरीमा बैँकिङ क्षेत्रमा पनि उपभोक्ताहरुले सहज सुविधा नपाएको गुनासो भएकाले बैँकका शाखा प्रवन्धकहरुसँग गाउँपालिकाले छिट्टै बैठक गरी सहज बनाउने अनुगमन समिति संयोजक बिष्टले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*