युट्युबमा पुराना हिट नेपाली फिल्महरू हेर्नुहोस्

तामसालिङ खबर
५ जेष्ठ २०७७, सोमबार ०८:३९

२०२२ सालमा हीरासिंह खत्रीद्वारा निर्देशित ‘आमा’ नेपालमै बनेको पहिलो फिल्म हो। त्योभन्दा अगाडि २००८ सालमै डिबी परियारले नेपाली भाषामा ‘सत्य हरिश्चन्द्र’ बनाएका थिए। तर, त्यो भारतको कलकत्ताबाट बनेको थियो।

अध्येताहरूले नेपाली फिल्मको विकासक्रम पञ्चायती व्यवस्थाको प्रचारप्रसार गर्ने माध्यमका रूपमा भएको तर्क गरेका छन्। राजा महेन्द्रले २०१७ सालमा ‘कू’ गरेपछि प्रजातन्त्रको बदख्वाइँ गर्दै पञ्चायतको वकालत गर्न सिनेमालाई हतियारका रूपमा प्रयोग गरे। ‘आमा’, ‘हिजो आज र भोलि’ र ‘परिवर्तन’ त्यही उद्देश्यबाट सरकारी लगानीमा निर्माण भएका फिल्म हुन्।

तत्कालीन शाही नेपाल चलचित्र संस्थानले करिब तीन दशकमा एकल र सहनिर्माण गरी ११ वटा फिल्म बनाएको पाइन्छ। ‘मनको बाँध’, ‘कुमारी’, ‘सिन्दूर’, ‘जीवन रेखा’, ‘बदलिँदो आकाश’ र ‘माया’ संस्थानको एकल निर्माणमा बनेका फिल्म हुन्।

‘के घर के डेरा’, ‘विश्वास’, ‘सन्तान’, ‘पञ्चवटी’ र ‘शान्तिदीप’ सहनिर्माणमा बनाइएका हुन्। यीमध्ये ‘सन्तान’ बाहेक अरू फिल्म युट्युबमा उपलब्ध छैनन्। सम्बन्धित पक्षले यी फिल्म युट्युबमा उपलब्ध गराइदिए पञ्चायती कालखण्डमा निर्मित फिल्मबारे जान्न उपयोगी हुने थियो।

पहिलो नेपाली फिल्म ‘आमा’ युट्युबमा भए पनि गुणस्तर कमसल छ। रुचि हुनेले हेर्दा हुन्छ। हामी आज युट्युबमा उपलब्ध पञ्चायती कालखण्डमा बनेका केही चर्चित र राम्रा मानिएका नेपाली फिल्मको सूची प्रस्तुत गर्दैछौं।

कुसुमे रुमाल (निर्देशक: तुलसी घिमिरे)
‘कुसुमे रुमाल’ को कथा तीन पात्र वरिपरि घुम्छ। फिल्ममा तृप्ति नदाकर (सुनिती), उदितनारायण झा (अमर) र भुवन केसी (अर्जुन) को मुख्य भूमिका छ। एउटै कलेज पढ्ने अमर र सुनिती दुवै सम्पन्न परिवारका हुन्छन्। अर्जुन भने तृप्तिकै परिवारमा काम गर्ने गरिब पात्रको भूमिकामा छन्।

अमर र अर्जुनबाहेक सुनितीकै कलेजको बदमास केटा राकेश पनि उनलाई मन पराउने लाममा छ। तीन जना केटाद्वारा पछ्याइएकी तृप्तिको मनमा को होला? थाहा पाउन हेर्नुस्, कुसुमे रुमाल । रजत जयन्ती मनाएको कुसुमे रुमाल निकै सफल फिल्म हो। यसको सफलतामा रञ्जित गजमेरको संगीतको ठूलो भूमिका छ। कुसुमे रुमाल, सुन भन न, तिमी नभए जिन्दगानी काँडा सरी छ, रेली खोला बगर काफल पाक्यो लहर लगायत गीत चर्चित छन्।

फिल्ममा कुसमे रुमाल बोलको गीत विभिन्न सन्दर्भमा कथा र पात्रसँग जोड्न प्रयोग भएको छ ।

लाहुरे (निर्देशक: तुलसी घिमिरे)
नेपाली गोर्खाली सैनिकले विभिन्न युद्धमा सहभागी भएर वीरको उपमा पाएका छन्। तर यो विशेषण पाउँदा सैनिक, उनका परिवार र देशले धेरै कुरा गुमाउनुपरेको छ।

‘लाहुरे’ फिल्ममा निर्देशक तुलसी घिमिरेले सैनिक पात्र सूर्य (श्रवण घिमिरे) लाई केन्द्रमा राखेर त्याग र प्रेमको मन छुने कथा भनेका छन्। यसमा आफ्नो प्रेम र परिवारभन्दा माथि उठेर देशका लागि ज्यान दिन तयार लाहुरेको कथा छ। प्रेमिकाले प्रेमी कुरेर बिताएको एकलासको विरह र आमाले लाहुरे बनेर लड्न गएको छोरा फर्केर आउला कि भनेर साँचेको व्यथा छ।

सिक्किम र दार्जिलिङमा छायांकन भएको यो फिल्मको संगीत कथाकै अंश बनेर आउँछ। रञ्जित गजमेरको संगीत भएको लाहुरेमा वीरताको चिनो, बस है ए आमा, साउने झरीमा, चियाबारीमा हो चिया बारीमा जस्ता सुमधुर गीत छन्।

यो नेपाल र भारतमा बस्ने नेपाली मूलका लाहुरेको भावना बोकेको फिल्म हो। फिल्ममा तुलसी घिमिरे पनि मुख्य भूमिकामा देखिन्छन्।

चिनो (निर्देशक: तुलसी घिमिरे)
‘राते काइँलालाई यो कुरा मन परेन‍‍‍…’

‘चिनो’ हेरिसकेकाहरूलाई राते काइँला (सुनिल थापा) को यो डायलग पक्कै याद होला। फिल्मको आरम्भ पनि राते काइँलाबाटै हुन्छ। जेलबाट छुटेका राते लक्ष्मी (सुभद्रा अधिकारी) लाई भेट्न आउँदा दुइटा बच्चाकी आमा बनिसकेको थाहा पाउँछ। यो खबरले उसलाई आक्रोशित बनाउँछ। रातेले लक्ष्मीको घर गएर उनको श्रीमानलाई आक्रमण गर्छ।

दुई बच्चा च्यापेर जसोतसो भागेकी लक्ष्मीले ज्यान त जोगाउँछिन्, तर दुईमध्ये एक बच्चा खोलामा बग्छ। खोलामा बगेको बच्चा ठूलो भएर शिव श्रेष्ठ र आमाको छहारीमा हुर्केको बच्चा भुवन केसीको भूमिकामा छन्।

फिल्मको कथा एउटा परिवारको खुसीमा आँखा लागेपछि आउने समस्या वरिपरि घुमेको छ। रातेले लक्ष्मीलाई कहाँसम्म पछ्याउला? लक्ष्मीले श्रीमानको चिनो अर्थात् आफ्नो हराएको छोरा फेरि भेट्लिन्? यो थाहा पाउन फिल्म हेरौं।

शिव श्रेष्ठ, भुवन केसी, कृष्टि मैनाली, शर्मिला मल्ल, सुभद्रा अधिकारी, तुलसी घिमिरेजस्ता धेरै कलाकार एकै ठाउँ भएको चिनो फिल्मका नायक- नायिकादेखि खलनायकसम्म चर्चित छन् । यसमा नारायण गोपाल र आशा भोसलेको स्वर भएको ‘मोहनी लाग्ला है’ बोल आज पनि उत्तिकै लोकप्रिय छ ।

सम्झना (निर्देशक: शम्भु प्रधान)
तृप्ति नदाकरको पहिलो फिल्म ‘सम्झना’ उनको जीवनकै यादगार फिल्म हो। फिल्ममा उनको जोडी बनेका भुवन केसीसँग उनले एकसे एक सफल फिल्ममा अभिनय गरिन्।

सम्झनामा तृप्ति भुवन केसीकी श्रीमती र छोरीको दोहोरो भूमिकामा देखिन्छिन्। चिया बगानमा दुई पाते सुइरो भन्ने गीतबाट सुरू हुने यो फिल्म भुवन केसीले छोरी तृप्तिलाई उनकी आमाबारे सुनाएको सम्झना हो। यसमा भुवन जवान र बूढो गरी अलग भेषमा देखिएका छन्।

भारत, पश्चिम बंगालको चिया बगानका सुन्दर दृश्य भएको सम्झनामा उकालीमा पछिपछि, गहिरो गहिरो सागरजस्तै, पिरती आफैं हुँदो रैछ जस्ता गीत चर्चित छन्। फिल्ममा संगीत रञ्जित गजमेरले दिएका हुन्।

साइनो (निर्देशक: उगेन छोपेल)
‘साइनो’ जेलिएका मानव सम्बन्धहरूको कथा हो। फिल्मले विवाहेत्तर सम्बन्ध, सामाजिक रूपमा वैध–अवैध मानिने सम्बन्धदेखि भावनात्मक र निश्चल सम्बन्धलाई छुन्छ।

फिल्मको केन्द्रमा बिनु र उनको घरमा बास माग्न आउने पात्र डैनीबीचको मितेरी साइनो छ। कथाको मुख्य चुरो फिल्मको अन्तमा खुल्छ।

डैनीको अभिनयसँगै उनले गाएको सुन कथा एउटा गीत का कारण पनि साइनो विशेष लाग्छ। यसबाहेक फिल्ममा फेरि आयो त्यो कालो रात, आमैले भन्थिन्, नयाँ नयाँ सजाउँ है संसार जस्ता गीत पनि छन्। उगेन छोपेलको निर्देशन रहेको साइनोमा रञ्जित गजमेरको संगीत छ। साइनोकै कथामा बंगाली फिल्म ‘बन्धु’ समेत बनाइएको थियो।

कान्छी (निर्देशक: बीएस थापा)
नेपाल र भारतमा छायांकन भएको ‘कान्छी’ व्यावसायिक रूपमा सफल फिल्म हो। यो नायिका शर्मिला शाह (मल्ल) को पहिलो फिल्म थियो। यसले उनलाई पछिसम्मै कान्छीकी नायिकाको पहिचान दियो।

फिल्ममा शिव श्रेष्ठ (विजय) बम्बईबाट पोखरा आएको युवकको भूमिकामा छन्। उनी पोखरामा मीरा अर्थात् कान्छी (शर्मिला मल्ल) सँग नजिकिन्छन्। कान्छीले पनि विजयलाई तनमन सुम्पन्छिन्। तर सुरूमा केही चिठी पठाएको विजयबाट खबर नपाएपछि कान्छी आफैं बम्बई पुग्छिन्।

कान्छीको बम्बै यात्राको कथा कस्तो होला? कान्छीको खोजले उनी आफैंलाई कहाँ पुर्याउला ? यी दुईबाहेक फिल्ममा सुषमा शाही पनि मुख्य भूमिकामा छिन्।

गोपाल योञ्जनको संगीत रहेको यो फिल्मको शीर्षगीत निकै चर्चित छ। हिमालसरी र कलकल कलकल पनि कान्छीका चलेका गीत हुन्। यो फिल्मलाई पछि श्वेता खड्काले निर्माण गरिन्। श्वेता र दयाहाङ अभिनित नयाँ ‘कान्छी’ पनि युट्युबमै हेर्न सकिन्छ।

माइतीघर (निर्देशक: बीएस थापा)
यो नेपालमा बनेको तेस्रो र निजी लगानीको पहिलो फिल्म हो। यसमा आफन्त र समाजबाट श्रीमानको मृत्युदोष लगाइएकी महिला निरमायाको कथा छ। श्रीमानको मृत्युको कारक मानिएकी उनलाई ‘बोक्सी’ भनेर दुर्व्यवहार गरिन्छ। यस्तो पीडा खप्न नसकेर उनी घर छाड्छिन्। तीनवर्षे छोरालाई घरमै छाडेर हिँडेकी उनको पेटमा अर्को बच्चा हुर्किरहेको हुन्छ।

फिल्ममा निरमायाको भूमिका चर्चित भारतीय अभिनेत्री माला सिन्हाले निर्वाह गरेकी छन्। युवतीबाट वृद्ध हुँदासम्मको भूमिकामा देखिन्छिन् उनी। महिलामाथि तत्कालीन समाजको धारणा र भेदभाव चित्रण गरिएको यो फिल्ममा मुख्य महिला पात्रको संघर्ष र विद्रोह पनि महशुस गर्न सकिन्छ।

माइतीघरमा हिन्दी फिल्म संगीतमा तीनपटक राष्ट्रिय पुरस्कार जितेका जयदेवले संगीत दिएका छन्। यसमा लता मंगेशकर, आशा भोसले, मन्नाडे, गीता दत्तजस्ता चर्चित भारतीय गायक-गायिकाको स्वर सुन्न पाइन्छ। साथमा, प्रेमध्वज प्रधान, अरुणा लामा र सिपी लोहनीका गीत समावेश छन्। यो हो मेरो प्राणभन्दा प्यारो, नमान लाज यस्तरी, म प्यार बेचिदिन्छु जस्ता गीत चर्चित छन्।

सेतोपाटीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*