प्रादेशिक प्रयोगशालाका प्रमुख नारायण कार्कीलाई नागढुंगामा हप्की-दप्की गर्ने को हुन् ?

तामसालिङ खबर
४ जेष्ठ २०७७, आईतवार १०:०७

जेठ ४, काठमाडौं – शुक्रबारदेखि सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको थियो । भिडियोमा केही युवाले सडकमा गुडिरहेको एक गाडीलाई रोकेर सोधपुछ गरिरहेको देखिन्छ ।

गाडीमा एक पुरुष र एक महिला स्वाथ्यकर्मी यात्रा गरिरहेका थिए । युवाहरुले कडा शब्दमा तपाईको झोला देखाउनुहोस् । मास्क किन नलगाएको भन्दै केरकार गरेको देखिन्छ । गाडीमा सवार स्वास्थ्यकर्मी निरीह बन्दै युवाहरुले जे–जे भन्यो त्यही मानिरहेको देखिन्छन् ।

त्यो भिडियो सामाजिक सञ्चालमा सेयर गर्दै यस्तो बेलामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने अधिकार ती युवाहरुलाई कसले दियो तीनलाई कारबाही गर्नुपर्छ भन्ने जस्ता आवाज उठाएका छन् ।

वास्तविक घटना यस्तो थियो
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमतीका प्रमुख नारायण कार्की शुक्रबार हेटौंडाबाट काठमाडौं फर्कँदै हुनुहुन्थ्यो । कोरोना परीक्षणका लागि हेटौंडामा भर्खरै सञ्चालनमा ल्याइएको ल्याबको व्यवस्थापन सकेर कार्की काठमाडौं फर्कनुभएको थियो । वरिष्ठ मेडिकल प्रयोगशाला विशेषज्ञ रहनुभएका कार्की ल्याबको व्यवस्थापनमा निरन्तर खटिरहनु भएको छ ।

आफूलाई सामाजिक अभियान्ता भनेर चिनाउने उत्तम कार्की सहित केही युवाले उहाँको गाडीलाई रोकेर अनुसन्धानमा खटिएको सुरक्षाकर्मीले जस्तै केरकार गरेको थियो । त्यो दृश्यलाइ आफूलाई सामाजिक अभियान्ता भनेर चिनाउने उत्तम कार्की नामका युवाको फेसबुकबाट लाइभ गरिएको थियो । युवाको समूहले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्दा पनि प्रहरीले रोकेन । अवरोधपछि कार्की हेटौँडा नै फर्किनुभयो । उहाँ शनिबार साँझ मात्रै काठमाडौं आउनुभएको छ ।

त्यो भिडियोमाथि धेरै नकरात्मक प्रतिक्रिया आएपछि उत्तम कार्कीले फेसबुकबाट भिडियो हटाएको प्रतिक्रिया दिएको छ । बाहिरबाट विभिन्न बहानामा धेरै व्यक्ति काठमाडौं उपत्यका भित्रिइरहेको र बाहिरबाट आएकामा कोरोना संक्रमण देखिएकाले त्यसलाई रोक्न आफूहरु नागढुंगा नाकामा खटेको दाबी उत्तम कार्कीले गरेको छ ।

गृह मन्त्रालयले तथा स्थानीय प्रशासनहरुले जारी गरेका नियममा लकडाउनका बेला स्वास्थ्यकर्मीका लागि यात्रा गर्न पास नचाहिने उल्लेख गरिएका छन् ।

कोरोना महामारीका बेला फ्रन्टलाइनमा खटिएका स्वास्थ्यका एक वरिष्ठ अधिकारीलाई केही व्यक्तिको झुण्डले कुरै नबुझी अवरोध गर्दा पनि प्रहरी प्रशासनले किन केही गरेन उनीहरुलाई नाकामा बसेर केरकार गर्ने अधिकार कसले दियो काममा हिडेका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरी फर्कन बाध्य पार्नेलाई कारबाही गर्नुपर्छ की पर्दैन ? सामाजिक सञ्जालमा त्यो भिडियोमाथि यस्तै प्रतिक्रिया आइरहेका छन् । – हेल्थ पाटी डट्कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*