नेपालगन्जमा थप ६ जनालाई कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
२१ बैशाख २०७७, आईतवार १७:४५

बैशाख २१, बाँके – सुदुर पश्चिम प्रदेशको नेपालगन्जमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार नेपालगन्जकै थप ६ जनामा कोरोना पुष्टि भएको हो । आइतवार साँझ कोरोना पुष्टि भएकाहरुबारे मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ती निकालेर पुष्टि गरेका हुन् ।

उनीहरु शुक्रबार र आइतवार भेटिएका १० संक्रमितकै परिवारका सदस्य र नातेदार रहेको बताइएको छ । भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितमा १६, २१ र ३४ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी ४०, ५५ र ६० वर्षीया महिला पनि कोरोना संक्रमित भएका छन् । आइतवार दिउँसो मात्रै नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो। यही शुक्रबार त्यहाँका एकजना ६० वर्षीय मुस्लिम धर्मगुरुमा पहिलो कोरोना संक्रमण देखिएको थियो ।

नेपालगन्जमा यसअघि आइतवार दिउँसो संक्रमण पुष्टि भएका ९ जना कोरोना भाइरसका नयाँ बिरामीमध्ये ७ वर्षीय पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जमा ७ वर्षीयदेखि ५८ वर्षीयसम्मलाई कोरोना देखिएको जानकारी दिएका छन् । त्यस्तै, आइतवार वीरगञ्जमा पनि एकजना संक्रमित भेटिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*