टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह

तामसालिङ खबर
१४ बैशाख २०७७, आईतवार ०८:३७

बैशाख १४, काठमाडौँ – टर्कीमा अवैधानिक रूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै सो माग गरेका हुन् ।

‘टर्की नेपाली समाज’ले टर्की समेत हेर्ने पाकिस्तान स्थित नेपाली राजदूतावासलाई एक पत्र मार्फत लकडाउन जारी गरिएसँगै हजारौँको सङ्ख्यामा टर्कीमा अवैधानिकरूपमा रहेका नेपालीको अवस्था कठिन बन्दै गएको जानकारी गराएको छ । समाजका अध्यक्ष उज्वलकुमार घिसिङले वैधानिक श्रमिकले समेत रोजगारी गुमाउनुुपर्ने वा बेतलबी बिदामा बस्नुपर्दाको पीडाले झन् निराशा सिर्जना गरिसकेको उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको कठिन अवस्थालाई ध्यानमा राखेर टर्की सरकारले अवैधानिक आप्रवासी कामदारका लागि जरिवाना मिनाहा र आममाफीको निर्णय गरी स्वदेश फिर्तीका लागि प्रक्रिया शुरु गरिसकेको छ ।

सुविधा सहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै समाजले स्वदेश फिर्तीका लागि पहल गरिदिन इस्लामावाद स्थित नेपाली राजदूतावास समक्ष अनुरोध गरेको छ ।

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पाकिस्तान स्थित नेपाली राजदूतावास मार्फत टर्कीमा रहेका नेपालीको अवस्था र स्वास्थ्यस्थितिका बारे चासो लिँदै सहयोगका लागि त्यहाँको सरकारसँग समन्वयमा रहेको जानकारी दिनुभयो । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*