सडकमा हिँड्नेलाई मुद्दा चलाउन गृह मन्त्रालयलाई निर्देशन

तामसालिङ खबर
४ बैशाख २०७७, बिहीबार ०९:४५

बैशाख ४, काठमाण्डौ – सहरमा गुजारा चलाउन समस्या परेपछि हिँडेरै गृहजिल्ला फर्किन लागेका सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने भएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले बिहीबारदेखि राजमार्गमा हिँड्नेलाई पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको हो ।

‘लकडाउन भनेको हिँडेर जान पाइने भन्ने होइन,’ समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले भने, ‘अहिले ठूलो संख्यामा मान्छे हिँडेरै विभिन्न जिल्लामा गइरहेको पाइएको छ, यसबाट जोखिम बढेकाले पक्राउ गरेर संक्रामक रोग ऐनको दफा २२ अनुसार मुद्दा चलाउन नै निर्देशन भएको छ ।’ पछिल्ला केही दिन संक्रमणको दर फैलिएसँगै जोखिम बढेको भन्दै लकडाउनलाई थप कडाइ गर्न लागिएको हो ।

उपत्यका लगायत विभिन्न ठाउँबाट खासगरी मजदुरहरू कैयौँ दिन हिँडेर घर फर्किरहेका छन् । काम बन्द भए सँगै खानै समस्या भएकाले जोखिम र कष्ट व्यहोरेरै गाउँ जान बाध्य हुनुपरेको उनीहरूको गुनासो छ । हिँडेर घर फर्किन पूर्ण रूपमा रोके सँगै गाँसको व्यवस्था नगर्ने हो भने सहरी क्षेत्रमा धेरै मजदुर भोकभोकै रहने अवस्था रहन्छ ।

समितिले खाद्यान्न पसलहरूमा हुने भीडबाट समेत जोखिम रहेको भन्दै त्यसतर्फ पनि ध्यान दिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । लकडाउन पालना नगर्ने अन्यलाई पनि मुद्दा चलाउन भनेको छ । लकडाउन कडाइ गर्ने क्रममा प्रशासनले परिवारभित्रै भएको मृत्युमा मलामी जान बाहेक पास दिन समेत बन्द गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*