कक्षा १०, ११ र १२ को परीक्षासम्बन्धी गलत सूचनाले विद्यार्थीलाई तनाव

तामसालिङ खबर
२५ चैत्र २०७६, मंगलवार ०५:०२

चैत्र, काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डको नामबाट सामाजिक सञ्जालमा आएको एउटा ‘फेक’ सूचनाले विद्यार्थीहरुमा भ्रम सिर्जना गराएको छ ।

सूचनामा कक्षा १० को स्थगित भएको परीक्षा वैशाख २१ गतेदेखि हुने र कक्षा ११ र १२ को परीक्षा निर्धारित मितिमै हुने उल्लेख गरिएको छ । तर राष्ट्रिय परीक्षा बोर्डले यसबारे कुनैपनि निर्णय नभएको भन्दै भ्रममा नपर्न आमविद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ ।

बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बोर्डको बैठक नै बस्न नसकेको भन्दै परीक्षाबारे कुनै निर्णय नभएको बताए । आफूले पनि फेक सूचनाबारे जानकारी पाएको भन्दै उनले अफबाह फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन प्रहरीमा उजुरी दिनका लागि सदस्य सचिव दुर्गाप्रसाद अर्याललाई निर्देशन दिइसकेको बताए ।

‘चैत १२ गते बोर्ड बैठक बसेको भनेर भ्रम फैलाइएको रहेछ । तर अहिले बोर्ड बैठक बस्नै सकेको छैन’, उनले भने, ‘सदस्य सचिवकै नाम राखेर फेक सूचना आएको मैले थाहा पाएपछि, अफबाह फैलाउनेलाई कानुनी कारबाहीमा ल्याउने बताए ।

उनले लकडाउन र कोरोनाको त्रास कति समय लम्बेला भन्नेमै अन्योलता रहेको अवस्थामा अहिले नै परीक्षा तालिकाबारे निर्णय लिन नसकिने बताए । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेदेखि र कक्षा ११ को परीक्षा बैशाख २१ देखि तय भएको छ । तर कोरोनाको कारण त्यो समयमा परीक्षा हुने-नहुनेमै अन्योल रहेको भन्दै अवस्था सहज भएपछि बोर्ड बैठक बसेर आवश्यक निर्णय लिइने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*