प्रधानमन्त्री ओलीको उपचार खर्च अनुमानित ५ लाख

तामसालिङ खबर
१ चैत्र २०७६, शनिबार ०६:२२

चैत्र १, काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालमा गरेको मिर्गौला प्रत्यारोपणसहितको अन्य उपचार खर्च करीब ५ लाख जति लागेको अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताएका छन् । शुक्रवार साँझ प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा डाक्टर खड्गाले अरूलाई जति खर्च लाग्छ, प्रधानमन्त्रीलाई पनि त्यति नै लागेको बताएका हुन् ।

‘हिसाबकिताब गर्न त पाइएको छैन तर मिर्गौला प्रत्यारोपणमा लाग्ने सामान्य खर्च साढे ४ देखि ५ लाखसम्म हो,’ डाक्टर खड्गाले भने, ‘बिल प्रधानमन्त्री कार्यालयमा पठाइन्छ । कसरी पेमेन्ट आउँछ हामीलाई थाहा हुने कुरा भएन ।’ डाक्टर खड्गाले १/२ महिनासम्म संक्रमणको जोखिम रहेकाले जोगिनुपर्ने बताए ।

‘आवश्यक चिकित्सक र नर्सहरू प्रधानमन्त्री कार्यालय आफैंले व्यवस्था गर्छ,’ डाक्टर खड्गाले भने, ‘उहाँलाई यहाँबाट स्वस्थ बनाएर पठाइएको छ, अत्यावश्यक पर्यो भने आउनुहुनेछ ।’

१२ दिनपछि शुक्रवार साँझ अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओली आफैं हिंडेर गाडीसम्म पुगेका थिए । त्यहाँ उनले हात हल्लाएर उपस्थित सबैलाई अविवादन गरे । उनलाई स्वागत गर्न मन्त्रीहरू पुगेका थिए ।

ओलीलाई गतहप्ताको सोमवार अस्पताल भर्ना गरिएको थियो भने बुधवार मिर्गौला प्रत्यारोपणको शल्यक्रिया गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*