बागमती प्रदेशका सबै जिल्लामा आइसोलेशन कक्ष राख्ने तयारी

तामसालिङ खबर
३० फाल्गुन २०७६, शुक्रबार ०९:२६

फाल्गुन, हेटाैंडा – बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस (कोभिड–१९) प्रकोपबाट प्रभावित भई आकास्मिक रूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन उपत्यका बाहेक प्रदेशका १० जिल्लाको अस्पतालमा आइसोलेशन कक्ष पूर्ण तयारीका साथ राखिएको जनाएको छ ।

ती जिल्ला अस्पतालमा छुट्टाछुट्टै प्रकोष्ट कक्षमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी, मास्क, प्रविधियुक्त पोशाक र उपकरणसहित सतर्कमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशन बमोजिम जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा सम्बन्धित गाउँपालिका, नगरपालिका र नगरपालिकाको स्वास्थ्य चौकी, उपचौकी र प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मीले सम्बन्धित गाउँटोलका स्थानीय जनताको घरदैलोमा पुगी कोरोना भाइरस रोगको प्रभावबाट बच्ने विषयमा प्रदेशका १० वटै जिल्लामा अहिले जनचेतनामूलक अभियान सञ्चालन भइरहेको छ । साथै अस्पतालको प्रकोष्ठ कक्षमा आवश्यक पर्ने प्रविधियुक्त पोशाक, मास्क एवं विभिन्न उपकरण खरिद गरी सम्बन्धित अस्पतालमा पठाउने कार्य भइरहेको निर्देशनालयले जनाएकाे छ ।

काठमाडौँ उपत्यकाको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु सरुवा रोग अस्पताल, ललितपुर र भक्तपुर जिल्ला अस्पतालमा आइसोलेशनका लागि छुट्टाछुट्टै प्रकोष्ठ कक्ष स्थापना भइरहेको स्वास्थ्य निर्देशनालयले जनाइएको छ । वाग्मती प्रदेशमा काठमाडौँ, ललितपुर र भक्तपुरसहित १३ जिल्ला समेटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*