रामेछापको सुनापतीमा १५ शैयाको अस्पताल सञ्चालन हुने

तामसालिङ खबर
२१ फाल्गुन २०७६, बुधबार ११:३२

फाल्गुन, मन्थली – रामेछापको सुनापती गाउँपालिकाभित्र १५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । सरकारले हरेक स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने नीति अनुसार गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालमा आउने भएको हो ।

स्वास्थ्य मन्त्रालयले निर्माण गरेको सुनापती गाउँपालिका–४ बेथानको पिपलडाँडामा रहेको स्वास्थ्य चौकीलाई नै अस्पतालको रुपमा स्तरउन्नती गर्ने तयारी गाउँपालिकाले गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभर २ सय ३६ स्वास्थ्य संस्थालाई १५ सैयाको अस्पतालमा स्तरोन्नती गर्न लागिएको बताउनु भयो । अघिल्लो वर्ष सरकारले २ सय ५१ पालीकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।

सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्क घिसिङले अस्पताल सञ्चालन गर्नको भौतिक अवस्था राम्रो रहेको बताउनुभयो । उहाँका अनुसार निर्माणकै क्रममा अस्पताल सञ्चालन हुने गरी भवन निर्माण गरिएको हो ।

गत बर्ष बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बेथानमा रहेको स्वास्थ्य चौकी भवनको उदघाटन गर्नुभएको थियो । दुई करोड २ लाखमा निर्माण भएको उक्त भवनमा हाल स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ ।

डाक्टर सहितको सेवा सुविधा सुचारु गर्न स्थानीयले माग गरेपनि गाउँपालिकाले वेवास्था गर्दै आएको थियो । सरकारले १५ सैयाको अस्पताल सञ्चालन गर्ने निर्णय गरेसँगै सुनापती गाउँपालिकाका नागरिकहरु उत्साहित भएका छन् ।

स्वास्थ्य मन्त्रालयले गाउँपालिकाको केन्द्र हिलेदेवी स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा रुपान्तरण गर्ने भनिए पनि हाल हिलेदेवीमा उक्त भौतिक संरचना नहुँदा बेथानको स्वास्थ्य चौकीलाई नै अस्पतालको रुपमा सञ्चालन गर्ने गृहकार्य गाउँपालिकाले थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*