राष्ट्रियसभामा वामदेवको प्रवेश संगै युवराज बाहिरिने

तामसालिङ खबर
१५ फाल्गुन २०७६, बिहीबार ११:३८

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभामा रिक्त सदस्यका लागि पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ। नेकपाको यो निर्णयसँगै अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा राष्ट्रिय सभाबाट बाहिरिने भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्ने एउटा कोटामा वामदेव राष्ट्रियसभामा जाने भएका हुन्।

गोलाप्रथाका क्रममा २ वर्षे कार्यकालका लागि चुनिएका खतिवडाको कार्यकाल यही फागुनमा सकिँदैछ। उनको ठाउँमा अब वामदेवले राष्ट्रिय सभा सदस्यकारुपमा प्रवेश पाउनेछन्। पार्टीभित्रको चर्को गुटको विवादकाबीच नेकपा सचिवालय बैठकले बर्दियामा कांग्रेसका सञ्जय गौतमसँग पराजित वामदेवलाई राष्ट्रिय सभामा लाने औपचारिक निर्णय गरेको हो।

वामदेव राष्ट्रियसभा प्रवेश गर्ने भएसँगै अर्थमन्त्री खतिवडा अब राष्ट्रिय सभा सदस्य रहने छैनन्। राष्ट्रियसभाको कार्यकाल सकिएको ६ महिनासम्म खतिवडा अर्थमन्त्री रहन पाउनेछन्। तर त्यस पदमा रहने नरहने उनैले निर्णय लिनेछन्। यदि ६ महिनासम्म रहेमा उनले नयाँ आर्थिक वर्षको बजेट पनि ल्याउन पाउनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*