फागुन २१ देखि महादेवटारमा परेवाकोट महोत्सव हुने

तामसालिङ खबर
१७ फाल्गुन २०७६, शनिबार ०७:५०

फाल्गुन १७, चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १ स्थित महादेवटारमा परेवाकोट कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । परेवाकोटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले यही फागुन २१ गतेदेखि महोत्सव आयोजना गर्न लागिएको हो ।

परेवाश्वरी सामुदायिक वन, लोथर मध्यवर्ती उपभोक्ता समिति, युवा जागृति क्लब र बुलबुल इन्टरटेन्टमेन्ट एन्ड मिडिया प्रालिले संयुक्त रूपमा महोत्सव आयोजना गर्ने भएका छन् । लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोेले भ्रमण वर्ष, राप्तीको पर्यटन तथा आर्थिक र सामाजिक विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताए ।

यस्तै राप्ती नगरभित्रका परेवाकोट, कामिनचुली, नागदह, भास्मणी ताल लगायत पर्यटकीय स्थलको प्रबर्द्धनका लागि महोत्सवको प्रथम संस्करण गर्न लागिएको उनले बताए ।

महोत्सवमा चेपाङको खाना, गिठ्ठाको मःमः, सिस्नुका परिकार, युवा वैज्ञानिक सरोज प्रजाले आविष्कार गरेको कार तथा प्यारामोटरको प्रदर्शनी, परेवाकोटमा जीप सफारी, घोडा शयर र आकर्षक सेल्फी खिच्ने स्थान लगायतको व्यवस्था समेत मिलाइएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक सानुबाबु बर्तौलाले जानकारी दिए ।

दैनिक रुपमा महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने संयोजक बर्तौलाले बताए । महोत्सवमा ५० लाख खर्च लाग्ने र १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव चैत १ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*