कोठामा हिटर बालेर सुत्दा किन मृत्यु हुन्छ ? यस्तो छ, जोगिने उपाय

तामसालिङ खबर
८ माघ २०७६, बुधबार ०५:१७

काठमाडौं – मकवानपुरको दामनस्थित एक होटलमा आठ भारतीय नागरिक मंगलबार बिहान साढे ९ बजे सुतेकै अवस्थामा बेहोस भेटिए। उनीहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइयो। तर, अस्पताल ल्याउँदा उनीहरु सबैको मृत्यु भइसकेको थियो।

प्रहरीका अनुसार उनीहरु सुतेको कोठामा रातभरि हिटर बालिएको थियो। बन्द कोठामा हिटर बालेर सुतेका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीकै जानकारी अनुसार दामनको घटनाजस्तै जाडो महिना सुरु भएदेखि देशका विभिन्न स्थानबाट यस्तै खालका घटना बाहिर आइरहेका छन्। चिसो मौसममा आगो बालेर वा हिटर बालेर सुतेका मानिसको मृत्यु भएका घटना बाहिर आइरहेका छन्।

चिकित्सकहरुका अनुसार झ्याल-ढोका बन्द गरी आगो ताप्ने वा हिटरको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले घातक हो । जाडो छल्नका लागि अपनाइने यस्ता उपायले धेरैको ज्यान गएको चिकित्सकहरु बताउँछन्। अल्का अस्पतालमा कार्यरत डा प्रेम पाण्डेका अनुसार चिसो मौसममा आगो ताप्दा जति न्यानो हुन्छ त्यति नै जोखिम पनि हुन्छ। बन्द कोठाभित्र आगो बाल्दा वा हिटरको प्रयोग गर्दा हुने लापरबाहीले ज्यानै समेत जान सक्ने उनी बताउँछन्।

‘आगोबाट निस्कने धुवाँ र हिटरबाट कार्बन मोनोअक्साइड ग्यास निस्कन्छ, जसले हाम्रो स्वास्थ्यलाई हानी पुर्याअउँछ,’ उनले भने, ‘लामो समय कोठाभित्र यसरी आगो र हिटरमा बस्दा शरीरका कोषहरु मर्दै गएर मानिसको मृत्यु समेत घटना हुने गरेको छ।’
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा सूर्य पराजुलीका अनुसार जाडो महिनामा हावाको बहाव कम हुने घर वा कोठामा यस्तो समस्या बढी देखिन्छ।

‘कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसका कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानि गर्छ,’ उनले भने, ‘आगो वा हिटर बालेको बन्द कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हुँदै जान्छ। अक्सिजन कम हुनेबित्तिकै कार्वनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ। र यसले हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम गर्दै लैजान्छ। यो क्रम बढ्दै जाँदा मानिस बेहोस हुन्छ र मृत्यु हुन्छ।’

उनका अनुसार यसरी हिटर र आगोमा बस्ने मानिसमा सुरुमा हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम हुँदै जाँदा चक्कर लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरीपन, उल्टी हुने, आँखा धमिलो हुँदै जाने, छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोस अथवा अर्धचेत हुने हुन्छ। समयमै थाहा नपाए यही कारणले नै मानिसको मृत्यु हुन्छ।

लक्षण
– टाउँको दुख्ने।
– वाकवाकी लाग्ने तथा बान्ता हुने।
– मुटुको धड्कन बढ्ने हुने।
– अक्सिजन कमी हुने हुँदा श्वास फेर्न गाह्रो हुने।
– चक्कर लाग्ने तथा बेहोस हुने।

यी लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गर्न डा पाण्डेको सुझाव छ। बन्द कोठामा धेरै जना बसेर रातभरि हिटरको प्रयोग गर्नु झनै जोखिमपूर्ण हुने उनले बताए।
उनले भने, ‘एउटै कोठामा धेरै व्यक्ति बस्ने र रातभरि हिटरको प्रयोग गर्ने गर्यो भने जटिलता निम्तने जोखिम धेरै हुन्छ।’
उनका अनुसार शरीरमा अक्सिजनको कमी हुँदा शरीरको कोषिका मर्दै जान्छ र मानिसको मृत्यु हुन सक्छ।

जोगिने कसरी?
हिटर प्रयोग गर्दा झ्याल-ढोका खुला राख्नुपर्छ। रातभरि हिटर बालेर छाड्ने, हिटर नजिकै बस्ने गर्नाले पनि दुर्घटना निम्त्याउन सक्छ। त्यसकारण रातभर हिटर बालेर नराख्ने। केही समय शरिर तताएर हिटर बन्द गर्नुनै सबैभन्दा उत्तम हुन्छ। विशेषगरी बालबालिका, गर्भवती र वृद्धवृद्धाले बढी सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाइ छ। (स्वास्थ्य खबरबाट साभार)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*