कांग्रेसभित्र आन्तरिक विवादै बिबाद

तामसालिङ खबर
७ माघ २०७६, मंगलवार २३:०९

माघ ७, काठमाण्डौ – प्रमुख प्रतिपक्षी दलका रुपमा कमजोर भूमिका खेलेको आरोप लाग्दै आएको कांग्रेसभित्रको आन्तरिक विवाद अझै सल्टिएको छैन । सभापति शेरबहादुर देउवाले पार्टीलाई बहुमतबाट सञ्चालन गर्न खोजेको आरोप लगाउँदै संस्थापन इतर समूहले पार्टीको मंसिर २६ गतेदेखि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको छ ।

सुरुमा महाधिवेशन कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गर्दै आएको असन्तुष्ट समूह पुस ११ गतेको निर्णयपछि सभापति देउवासँग थप चिढिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारकाबीच पुस ११ गते बहुमतबाट पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुका साथै विभाग संख्या २८ बाट ४७ पुर्‍याउने, नेपाल तरुण दलको समयावधि ६ महिना थप गर्नेलगायत निर्णय भएको थिए ।

केन्द्रीय समिति बैठक बहिस्कार र बहुमतबाट निर्णय गर्ने दुबै विषय गलत भन्दै सहमतिमै पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने निर्णयपछि सभापति देउवासँग रुष्ट बनेका थिए ।

नेता सिटौलाले देउवालाई भेटेर पार्टीमा एकता कायम गराउन ध्यानाकर्षण पत्र बुझाएका थिए भने वरिष्ठ नेता पौडेलले जिल्ला सभापति भेला बोलाएर सभापति देउवालाई दवाव दिएका थिए । पार्टीभित्र सहमतिका लागि पटक पटक नेताहरुबीच छलफल भए पनि सहमति भने हुन सकेको छैन । सभापति देउवाले असन्तुष्ट समूहसँग छलफलका लागि उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएका छन् भने पौडेलले नेता प्रकाशमान सिंहको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएका थिए ।

कार्यदलले महाधिवेशन कार्यतालिका, विभाग गठन, नेपाल विद्यार्थी संघ गठन र नेपाल तरुण दलका विषयमा प्याकेजमै सहमति जुटाउन गरेका प्रयासले सार्थकता पाउन सकेको छैन । वार्तामा सहभागि नेताहरुले छलफल सकारात्मक भनेपनि टुंगोमा भने नेताहरु पुग्न सकेका छैनन् । पार्टीभित्र तेस्रो समूहको नेताका रुपमा चिनिने सिटौला पनि वार्तामा सहभागि हुन थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*