म्याग्दीका युवाले भेडापालनबाट मनग्य आम्दानी गर्दै

तामसालिङ खबर
६ माघ २०७६, सोमबार १०:४८

माघ ६, म्याग्दी – अन्नपूर्ण गाउँपालिका पाउद्वारका सुकबहादुर तिलिजा आठ वर्षअघि वैदेशिक रोजगारीमा जान सदरमुकाम बेनीसम्म पुगे । गाउँबाट दौतरीहरु धमाधम विदेश जान थालेपछि उनलाई पनि रहर जागेको थियो ।

बेनीसम्म पुगे पनि उनी त्यहाँबाट पर जान सकेनन् । बुबा लालवीरले गाउँमै भेंडापालनबाट राम्रो कमाइ गरिरहेको देखेका उनी गाउँ नै फर्किए । उनीजस्तै गाउँकै तुलबहादुर तिलिजाले समेत वैदेशिक रोजगारीको मोहलाई त्यागेर गाउँकै खर्कमा भेंडापालन थालेका छन् ।

उनीहरुले भेंडापालनमा लागेपछि मनग्य आम्दानी गर्दै आएका छन् । एकजनाले वार्षिक न्युनतम सात लाख कमाइ गरेका छन्। ‘विदेश जान धेरै रहर गरिन्थ्यो। अहिले खयरक्षेत्रमै पैसा कमाउँदा खुसी छु,’ तुलबहादुरले भने। करिब ७०० भेंड रहेको बताउने तिलिजाले वार्षिक ७ देखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। एउटा भेंडाको पाँच हजारदेखि ३० हजार रुपैयाँसम्म बिक्री हुने गरेको तुलबहादुरले बताए ।

पाउद्वारका लालवीर तिलिजा, मीनबहादुर गुरुङ, छविलाल तिजिलासहित नौजनाले व्यावसायिक भेंडापालन गर्दै आएका छन्। पाउद्वार गाउँबाट करिब सात घण्टाको दूरीमा भेंडीगोठ रहेको छ। यहाँ पालिएका भेंडा जनैपूर्णिमा मेला, दशैंतिहारलगायतका चाडपर्वमा बढी बिक्री हुने गरेको छ। समस्या पनि छ चरनक्षेत्रमा हिमचितुवाले भेंडा खाने गरेको छ। त्यसबाट बचाउन युवाहरुले समूह बनाएका छन्।

चरन क्षेत्रमा भनेजस्तै घाँस नहुने गरेकोले भेंडाको गोठ बिस्तार गर्न समस्या भइरहेको उनीहरुको गुनासो छ। चरन क्षेत्र व्यवस्थापन गर्न सरकारी निकायले चासो नदिएकाले समस्या भएको भेंडापालक किसानको भनाइ छ। उक्त समस्या समाधान भए भेंडाको संख्या बढाउन सकिने र आम्दानी पनि बढाउन सकिने उनीहरु बताउँछन्।

जिल्लाकै पर्यटकीय क्षेत्रको रुपमा परिचित खोप्रा, खयरबराह क्षेत्रका जंगलमा पाउद्वारका साथै आसपासका क्षेत्रबाट आएका १५ किसानले भेंडापालन गरिरहेका छन्। यहाँ उत्पादिन भेंडा जिल्लाभित्रै र मुस्ताङ, बागलुङ, पोखरालगायतका क्षेत्रमा बिक्री हुने गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*