भीमफेदी–कुलेखानी सुरुङमार्गको ठेक्का लगाउने तयारी

तामसालिङ खबर
४ माघ २०७६, शनिबार ०८:५४

माघ ४, हेटौंडा – बागमती प्रदेश सरकारले हेटौंडा-कुलेखानी-काठमाडौं सडकमार्गमा ‘पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङमार्ग’को निर्माणको लागि यसै वर्ष ठेक्का लगाउने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हाल यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको छ ।

मन्त्रालयका सचिव तेजराज भट्टका अनुसार सुरुङमार्गको डिजाइनको काम करिब-करिब अन्तिम चरणमा पुगेको छ । डिजाइन सकिनासाथै फागुन-चैतमै आयोजना निर्माणका लागि ठेक्का लगाइने भट्टले बताए । स्मरणीय के छ भने हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग निर्माणको जिम्मेवारी नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल) ले पाएको छ । यो कम्पनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको अग्रसरतामा स्थापना भएको थियो ।

मन्त्रालयका सचिव भट्ट भने यो परियोजना संघीय सरकारले निजी कम्पनीलाई दिएको जानकारी नभएको बताउँछन् । आफ्नो कार्यक्षेत्रमा भएकाले यसका लागि कसैको स्वीकृति आवश्यक नपर्ने उनको भनाइ छ । ‘संघ सरकार पनि यो परियोजनामा सहभागी हुन्छ,’ उनले भने, ‘समन्वय र सहकार्यमै काम हुन्छ ।’

तर, प्रदेश सरकारले काम अघि बढाउन तयारी गरिरहँदा नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडलाई केन्द्र सरकारले दिएको अनुमतिपत्र खारेज भएको छैन । २०७४ भदौ ६ गते प्रदेश सरकारले संघीय सरकारलाई पत्र लेखेर एनपीबीसीएललाई यो सुरुङमार्ग परियोजनाबाट बाहिर निकाल्न आग्रह गरेको थियो । तर संघीय सरकारले कुनै निर्णय लिएको छैन ।

संघीय सरकारले चासो नदिएपछि प्रदेश सरकार यो सडकमार्गको एउटा खण्डमा आफैंले सुरुङमार्ग निर्माण गर्न अग्रसर भएको हो । काम सुरु गर्न संघीय सरकारबाट स्वीकृति नपाउँदै प्रदेश सरकारले सुरुङमार्गको अध्ययन गरेको छ । प्रदेश सरकारले भीमफेदी-कुलेखानी खण्डमा मात्रै सुरुङ बनाउन लागेको हो । यो मार्गको अन्य खण्डलाई स्तरोन्नति गर्ने योजना बनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*