सागमा पदक बिजेता मकवानपुरे खेलाडी र प्रशिक्षकलाई सम्मान

तामसालिङ खबर
२८ पुष २०७६, सोमबार ०८:३५

हेटौडा – १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पदक जित्ने मकवानपुरका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ । मंगलबार जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले संयुक्त रुपमा १३ जना खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा हेटौंडा उपमहानगरपालिकाले मकवानपुरबाट सागमा स्वर्ण जित्ने ४ जनालाई जनही १ लाख, रजत जित्ने ४ जनालाई जनही ७५ हजार र कास्य जित्ने ५ जनालाई जनही ५० हजार सहित सम्मानपत्र प्रदान गरेको हो ।

जिल्ला समन्वय समितिले स्वर्ण पदक विजेतालाई नगद २५ हजार, रजत पदक विजेतलाई २० हजार र कांस्य पदक विजेतलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको छ । उसुमा रजत पदक जिताउन सफल प्रशिक्षक विमल थापालाई पनि नगद सहित सम्मान गरिएको छ ।

उनीहरुलाई नगदसहित सम्मान गर्दै हेटौंडा–४ स्थित हुप्राचौरबाट नेपाली सेनाको न्याउली बाजा र पञ्चे बाजासहित हेटौंडा बजार परिक्रमा गराईएको हो । खेलाडी तथा प्रशिक्षकहरुलाई जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगायतले नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*