छैटौँ माधव सुमार्गी टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

तामसालिङ खबर
२५ पुष २०७६, शुक्रबार ०७:२१

पुस २५, हेटौँडा – प्रदेश ३ को मुकाम हेटौँडामा छैटौँ स्व. माधवराज सुमार्गी टि-ट्वान्टी क्रिकेट कप प्रतियोगिता हुने भएको छ । ३ नम्बर प्रदेशस्तरीय प्रतियोगितामा आठ वटा टिमले सहभागिता जनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

त्यस्तै, आयोजक मकवानपुर क्रिकेट संघले छैटौँ र सातौँ प्रतियोगिताको लागि प्रायोजक हेटौँडा एकेडेमीसँग दुईवर्षे सम्झौतासमेत गरेको छ । सम्झौता पत्रमा हेटौँडा एकेडेमीका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गी र मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता हस्ताक्षर तथा प्रतियोगिताको बारेमा जानकारी दिँदै आयोजक अध्यक्ष श्रेष्ठले अबका वर्षमा निरन्तर प्रतियोगिता सञ्चालन गरिने बताए ।

उनले यो वर्षको खेलका लागि पाँच लाख रुपैयाँ खर्च लाग्नेसमेत बताए । आगामी पौष २६ गतेदेखि छैटौँ प्रतियोगिता आयोजना गर्न लागेको उनले जानकारी गराए । बाहिरी जिल्लामा पनि क्रिकेटका प्रतियोगिता भइरहेका कारण यो वर्षको फाइनल खेल माघ ४ वा ५ गते खेलाडीको अनुकूल हुनेगरी समपन्न गर्ने समेत उनले बताए ।

आगामी दुई वर्षको लागि प्रतियोगिता प्रायोजन गर्ने सहमति गर्दै क्यान मकवानपुरका संस्थापक अध्यक्ष एवं हेटौँडा एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमार्गीले आफ्नो बुबा स्व. माधवराज सुमार्गीको नाममा प्रतियोगिता आयोजना गर्ने अवसर प्रदान गरेको आयोजकलाई धन्यवाद दिए।

उनले दुई वर्षको लागि मात्र सम्झौता भए पनि फेरि यसलाई निरन्तर आयोजना गर्न आफूहरू तयार रहेको बताए। मकवानपुरमा क्रिकेट खेललाई अगाडि बढाउन यो प्रतियोगिताले भूमिका खेल्ने समेत उनले बताए। प्रतियोगीतामा पहिलो पाइला शिशु स्याहार केन्द्रकी संचालिका अंकिता सुमार्गीले खेलाडीलाई ग्राउण्डमै खाना खुवाउने व्यवस्था गरेको बताइन्।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, शिल्ड मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् भने द्वितीय हुने टिमले २० हजार नगद, शिल्ड, प्रमाणपत्र प्राप्त गर्ने जिल्ला अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगीताको पहिलो खेल आगामी २६ गते बिहान ८:३० बजे महावीर क्लब मकवानपुर र मकवानपुर क्रिकेट एकेडेमी बीच हुने आयोजकले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*