हेटौंडालाई स्थायी राजधानी बनाउन ह्वीप लगाउने तयारी

तामसालिङ खबर
२४ पुष २०७६, बिहीबार ११:२९

पुस २४, हेटौडा – प्रदेश नम्बर ३ को मुकाम हेटौडालाई स्थायी राजधानी बनाउन ह्वीप लगाउने तयारी भएको स्रोत जनाएको छ । हेटौंडालाई राजधानी तथा बागमती नाम राख्ने विषयमा सहमती जुटाउँन नेकपा प्रदेश ३ संसदीय दलको बैठक अहिले बसिरहेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसिरहेको बैठक प्रदेशको राजधानीका विषयमा पार्टीका सांसदबिच फरक-फरक धारणा आइरहेपनि निर्णयका लागि प्रदेशसभामा जाँदा एकमत भएर जानका लागि संसदीय दलको बैठकले निर्णय लिने बताइएको छ ।

राजधानीका विषयमा मतदानका बेला केही सांसदले काभ्रेमा राजधानी बनाउनुपर्ने बताउँदै आएकाले फ्लोर क्रस हुनसक्ने भएकाले ह्वीप नै लगाउँनुपर्ने अवस्था आएमा त्यसको पनि तयारी भएको जनाइएको छ । प्रदेशसभा सचिवालयका अनुसार यही पुस २७ गतेभित्र नाम र राजधानीको विषय प्रदेशसभाबाट टुंग्याउने तयारी छ ।

प्रदेशको राजधानी हेटौँडा र नाम बागमती राख्ने विषयमा दोस्रो पटक पार्टी शीर्ष नेतृत्वले निर्देशन दिएपछि अब यो निर्णयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता सहित नेताहरु हेटौँडा फर्किएका थिए । प्रदेश ३ मा नेकपाको दुई तिहाई बहुमत रहेकाले नेकपाको निर्णय नै अन्तिम हुने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*