सर्लाहीका एक युवाले च्याउ खेतिबाट मनग्य आम्दानी गर्न सफल

तामसालिङ खबर
१९ पुष २०७६, शनिबार २०:१२

पुस १९, सर्लाही – प्रदेश नम्बर २ सर्लाही वाग्मतीका एक युवाले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका वाग्मती नगरपालिका वडा नं १० शङ्करपुरका ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ उत्पादन गरेर उदाहरणीय कार्य गरेको छ । उहाँले च्याउको बीउ बिक्री गरेर मासिक रु एक लाख २० हजार आम्दानी गर्छन् ।

दुई वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आइरहनुभएका उद्यमी चौलागाईँले दुई महिनादेखि आफैँ च्याउको बीउ उत्पादन गर्न शुरुआत गर्नुभएको छ । २५० ग्रामको दैनिक एक हजार कन्य च्याउको बीउका प्याकेट उत्पादन गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि च्याउको बीउ लिनका लागि हेटौँडा, काठमाडौँ जस्ता ठूला शहरमा यहाँबाट धाउनुपथ्र्यो ।

अहिले वाग्मतीमै च्याउको बीउ उत्पादन भएपछि यस क्षेत्रका व्यावसायिकरुपमा च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ । उहाँले अहिले करिव रु ३० लाखमा च्याउ उत्पादन गर्ने उपकरण किन्नुभएको छ । उहाँले भन्नुहुन्छ “ म दैनिक १ हजार च्याउको बीउको प्याकेट उत्पादन गर्छु ।”

स्थानीय बजारमा पनि च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ बिक्री गर्न खासै बजारको समस्या नभएको उहाँकोे कथन रहेको छ । रु ४० रुपैयाँका दरले प्रतिप्याकेट स्थानीय कृषक लगायत सिन्धुली, रौतहट, महोतरीका किसान र कृषि ज्ञानकेन्द्र सर्लाहीलाई बीउ बिक्री गरिरहेको उहाँ बताउनुहुन्छ ।

उहाँले च्याउको बीउ उत्पादन गर्ने काममा स्थानीय तीन जना युवालाई रोजगारी दिनुभएको छ । यही व्यवसायको कमाइबाट चार कठ्ठा जमिन जोडिसक्नुभएको छ । अहिले उहाँले कृषि फार्म नै दर्ता गरेर च्याउ र च्याउको बीउ उत्पादन गर्दै आइरहनुभएको छ । स्वदेशमै केही गरौ भनेर २०७४ सालदेखि व्यावसायिक च्याउखेती शुरु गरेको जानकारी दिनुभयो । खासगरी चिसो मौसममा च्याउको खेती हुने गर्छ । उहाँले अझ बढी फाइदा लिनका लागि बेमौसमी च्याउखेतीका लागि घरको दुई वटा कोठालाई चिसो बनाई राख्न इयर कन्डिसनसमेत जडान गरिएको बताउनुभयो ।

कृषि ज्ञानकेन्द्र मलङ्गवाका प्रमुख देवानन्द राय यादवले भन्नुहुन्छ “रोजगारीका लागि विदेशमै जानुपर्छ भन्ने छैन । मेहनत र सीप भए स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।” विदेश जाने मोह बोकका युवाका लागि विदेशभन्दा राम्रो कमाई स्वदेशमै गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् वाग्मतीका ध्रुव चौलागाईं ।

उहाँले पछिल्लो समय सर्लाहीमा च्याउखेती गर्ने किसानको सङ्ख्या बढेको छ । च्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्घि भएको प्रमुख यादवले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*