कृषि विकास बैंक र राष्ट्रिय कृषक महासंघबीच कर्जा कार्यान्वयन सम्बन्धी सम्झौता

तामसालिङ खबर
११ पुष २०७६, शुक्रबार ०८:२१

पुस ११, काठमाडौं – कृषि विकास बैंक र राष्ट्रिय कृषक समूह महासंघबीच वित्तिय तथा सामाजिक/सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय र राष्ट्रिय महासंघका अध्यक्ष नवराज बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा उपाध्यायले महासंघसँग गरिएको सम्झौताले नेपालको ग्रामीण क्षेत्रका कृषक समूह तथा कृषि सहकारीमा आवद्ध विशेष गरी सिमान्तकृत, भूमिहिन तथा महिला कृषकहरुलाई कृषि तथा पशुपालन परियोजना संचालनका लागि बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने बताए ।

यस सम्झौताले कर्जा सँगै सामाजिक सामुदायिक कार्यक्रम संचालन गरी स्थानीयस्तरमा रोजगारी वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा योगदान पुग्ने बताउँदै उनले कृषि विकास बैंक सदैव कृषकको बैंक रही आएको र आगामी दिनमा समेत कृषि तथा पशुपालनको व्यवसायिककरण र आधुनिकीकरणमा काम गर्ने बताए ।

महासंघका अध्यक्ष नवराज बस्नेतले बैंक सँग गरिएको सम्झौताबाट दुरदराजमा रहेका उपेक्षित गरीब कृषकहरुलाई बैंकको सहुलियतपूर्ण कर्जाको माध्यमबाट उनीहरुको आर्थिकस्तर माथी उठाउन ठूलो सहयोग पुग्ने बताए । बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार महासंघमा आवद्ध ५७ जिल्लाका करीब पाँच हजार दुई सय कृषक समूह तथा सहकारीका एक लाख कृषकहरुलाई कृषि तथा पशुसँग सम्बन्धित परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा उपलब्ध गराउने छ ।

महासंघको सिफारिसमा स्थानीय कृषकहरुलाई आवश्यकता अनुसार सहुलियतपूर्ण कर्जाका अतिरिक्त उद्यमशीलता विकासका लागि तालीम, बाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कार्यक्रम संचालन समेत गर्ने उनले बताए ।      स्रोत : कर्पोरेट नेपाल डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*