रोकिएन, एकसिङ्गे गैंडा मर्ने क्रम

तामसालिङ खबर
२९ मंसिर २०७६, आईतवार ०९:१२

मंसिर २९, चितवन – चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन् ।

“गैँडा मर्ने क्रम रोकिएको छैन”, चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपाल घिमिरेले भन्नुभयो । पछिल्लो समय मंसिर १८ गते बुधबार भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा गैँडा मृत अवस्थामा भेटियो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सिसुवारमा भेटिएको उक्त गैँडाको खाग र खुर सुरक्षित थियो र शरीरमा कुनै चोटपटक पनि लागेको थिएन । “मरेको गैँडा त्यस्तै तीस वर्ष उमेरको हो”, प्रवक्ता घिमिरेले भन्नुभयो, “मानव बस्तीमा गएर फापर, गहुँ लगायतका खेती खाएको रहेछ । त्यसलाई पचाउन नसकी फुड पोइजन भएर मरेको निष्कर्षमा हामी पुग्यौँ ।”

निकुञ्जमा यसअघि विष प्रयोगबाट गैँडा मरेको घटना बाहिर आए पनि फुड पोइजनका कारण कुनै पनि गैँडा मरेको तथ्य भेटिँदैन । त्यसो त अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ४३ वटा गैँडा चितवन निकुञ्जमा कालगतिले नै मरेको निकुञ्जसँग तथ्याङ्क छ । यो सङ्ख्या २०७४/०७५ मा २६, २०७३/०७४ मा २५ वटा थियो । यो खबर गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*