दैलेखमा शुरु भयो, ‘छोरी जन्मिए बैंक खाता’ खोलिदिने कार्यक्रम

तामसालिङ खबर
५ मंसिर २०७६, बिहीबार ०७:१०

मंसिर ५, दैलेख – दैलेखको भैरवी गाउँपालिकाले ‘छोरी जन्मिए बैंक खाता’ खोली प्रत्येक वर्ष १ हजार रुपैयाँ जम्मा गरिदिने कार्यक्रम शुरू गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को बजेट मार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक वर्ष रू १ हजारका दरमा रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको थियो ।

कार्यक्रमका लागि गाउँपालिकाले रू ३ लाख बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षदेखि गाउँपालिकाभित्र जन्मिएका बालिकाको नाममा ‘सिभिल बैंक’मा खाता खोल्न शुरू गरिएको गाउँपालिकाले जानकारी दिएको छ । यसमा सहभागी हुनका लागि स्वास्थ्य चौकीमै सुत्केरी भएको र बच्चा जन्माउने उमेर २० वर्ष पूरा हुनुपर्ने छ । ‘उमेर नपुगी विवाह गरी बच्चा जन्मएका, घरमै जन्मिएका र दुईभन्दा बढी सन्तान जन्माउनेलाई यो कार्यक्रममा समावेश गरिने छैन,’ गाउँपालिका अध्यक्ष प्रेम बुढाले बताएका छन् ।

सानै उमेरमा विवाह गर्ने, बच्चा जन्मिने र पछि उनीहरूमा विभिन्न समस्या आइपर्ने हुनाले गाउँपालिकाले ‘छोरी प्रोत्साहन’ कार्यक्रम मार्फत छोरीमैत्री गाउँ निर्माण गर्ने अभियान थालेको उनले जानकारी दिए ।

आमा वा बुबा संरक्षण रहने गरी छोरीको नाममा बैंक खाता खोल्ने गरिएको गाउँपालिकाले जानकारी दिएको छ । गत साउनमा कर्णाली प्रदेश सरकारले पनि यस्तो नीति ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*