हेटौंडामा बिमानस्थल निर्माण गर्न स्थानीयको प्रस्ताव

तामसालिङ खबर
४ मंसिर २०७६, बुधबार ०८:१८

मंसिर ४, हेटौंडा – प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा बिमानस्थल निर्माण गर्न प्रदेश सरकार समक्ष माग गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं ३ को पूर्बपश्चिम राजमार्गको दक्षिणतिर रहेको करिब ३ सय बिगाहा जमिनमा आन्तरिक बिमानस्थल निर्माण सम्भाव्यता अध्ययन गर्न स्थानीयले प्रदेश सरकार समक्ष माग गरेका हुन् ।

राप्तीखोलाको किनारामा रहेको बगर क्षेत्रलाई तटबन्ध गरी बिमानस्थल निर्माण गर्न उपयुक्त देखिएको खण्डमा प्रक्रिया अगाडि बढाउन स्थानीयले माग गरेका हुन् । मुख्यमन्त्री डोरमणि पौडेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा लगायतको टोलीले पटक-पटक सो क्षेत्रको अवलोकन गरेको हेटौंडा उपमहानगरपालिका–३ का वडाअध्यक्ष रामकुमार पुडासैनीले बताए ।

राप्ती खोलाको किनारामा रहेको खाली जमीनलाई सुधार गरी बिमानस्थल बनाउन उपयुक्त हुने देखिएका कारण सम्भाव्यता अध्ययन गर्न माग गरिएको वडाअध्यक्ष पुडासैनीले बताए । खाली रहेको जमिन उपयोग गर्नका लागि स्थानीयबासीले प्रदेश सरकार समक्ष पहल सुरु गरेको र प्रदेश सरकार यसमा सकारात्मक रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताए ।

बसामाडी क्षेत्रका स्थानीयबासी, राजनीतिक दल, नागरिक समाज सँग बसेर छलफल चलाउने तयारी भइरहेको वडाअध्यक्ष पुडासैनीले जानकारी दिए । बसामाडी स्थित बाल उज्ज्वल मावि व्यवस्थापन समितका अध्यक्ष मीनबहादुर अधिकारीले बसामाडीमा बिमानस्थल स्थापना गर्ने प्रस्ताव सकारात्मक रहेको बताए ।

बाढी आउने समयमा राप्ती खोलाको बहावका लागि आवश्यक स्थान राखेर तटबन्ध निर्माण गरी राप्तीको बगरलाई भरपुर उपयोग गर्न सकिने वडाअध्यक्ष पुडासैनीको धारणा छ । बसामाडीमा बिमानस्थल निर्माण गर्न सकेको खण्डमा प्रदेश–३ को राजधानीमा पनि सबैखाले सेवासुबिधाको पहुच हुने वडाअध्यक्ष पुडासैनीले बताए ।

राप्तीखोलाको बगरको रुपमा उपयोग बिहिन अवस्थाको जमीनलाई सुधार गरेर उपयोग गर्नका लागि प्रदेश सरकारले पहल सुरु गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*