महरा प्रकरण बाहिर ल्याउने पत्रकार शिवाकोटी पुरस्कृत

तामसालिङ खबर
३० कार्तिक २०७६, शनिबार ०८:३२

कार्तिक ३०, काठमाडौँ – नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले इञ्जा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार अजयबाबु शिवाकोटीलाई पुरस्कृत गरेको छ ।

इञ्जा एसियाले शुक्रबार काठमाडौँ लेखनकुञ्जमा गरेको एक कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी , इञ्जा एसियाका अध्यक्ष एवं वरिष्ठ पत्रकार टंक पन्त र पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले पुरस्कृत पत्रकार शिवाकोटीलाई एक हजार डलर नगद सहित प्रशंसापत्र हस्तान्तरण गरे ।

पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत शिवाकोटीलाई सो पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ मानवअधिकारकर्मी पहाडीले नेपाली मिडियाले प्रेस स्वतन्त्रता , मौलिक हक, लोकतान्त्रिक आन्दोलनका लागि सबै भन्दा प्रभावकारी भूमिका खेलेको उल्लेख गरे । प्रेस स्वतन्त्रबिना लोकतन्त्र, गणतन्त्रको विकास हुन नसक्ने भन्दै पहाडीले मानव अधिकार र प्रेस स्वतन्त्रता हनन हुने अवस्था आउन नदिन अहिले पनि खबरदारीको आबश्यकता रहेको औल्याए ।

संसारभर छरिएका नेपाली पत्रकारहरुको साझा सञ्जाल(इन्जा) को मूख्यालय अमेरिकाको भर्जिनियामा रहेको छ भने एसिया, युरोप, अष्ट्रेलिया र अमेरिकामा यसका महादेशीय शाखाहरु क्रियाशील रहको जानकारी गराउदै इञ्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तले इन्जाले आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्न नेपाली पत्रकारहरु कार्यरत सबै देशमा फ्रेण्डस अफ इन्जा गठन गरेको जानकारी दिए ।

इञ्जाले प्रेस स्वतन्त्रताको पक्षमा वकालत र पहरेदारी संगै इन्जाले मर्यादित र विश्वसनीय पत्रकारितामा समेत जोड दिदै आएको अध्यक्ष पन्तले बताए । नेपाली पत्रकारहरुका व्यवसायिक विकासका लागि आवश्यकता अनुसार तालिम, सामग्री र भ्रमणहरु समेत उपलव्ध गराउंदै आएको इन्जाले कानुनी राज्य स्थापनामा सहयोग पुग्ने गरी खोजमुलक उत्कृष्ट समाचारहरु सम्प्रेषण गर्ने पत्रकारहरुलाई प्रोत्साहन दिन यस वर्षदेखि इन्जा अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने नीति लिएको उहाँले जानकारी दिए ।

पुरस्कृत पत्रकार हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिबाकोटीले आफूले पहिलो पटक पाएको पुरस्कारले थप जिम्मेवार हुन प्रेरित गरेको बताए । उनले प्राप्त गरेको एक हजार डलर पुरस्कारको राशी मध्ये २५ हजार नेपाली रुपैयाँ उपचारका क्रममा हालै मृत्यु भएका युवा पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापति इञ्जाका सल्लाहकार तारानाथ दाहाल , लेखन कुञ्जका अध्यक्ष कमल ढकाल , ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन , इञ्जाका एसियाका महासचिव दीपेन्द्र दोङ तामाङले सरकार जति मिडियाप्रति उदार हुन्छ त्यति नै लोकतन्त्र , गणतन्त्र र प्रेस स्वतन्त्रताका लागि सहयोग पुग्ने उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*