चेपाङ बस्तीमा सुविधा सम्पन्न पाँच विद्यालय भवन

तामसालिङ खबर
२९ कार्तिक २०७६, शुक्रबार ०८:०२

कार्तिक २९, हेटौडा – मकवानपुरको विकट राक्सिराङ गाउँपालिका अन्तर्गत वडा नं ६, ७ र ८ मा पाँचवटा पक्की विद्यालय भवन निर्माण भएको छ । पाँचमध्ये ४ वटा विद्यालयका भूकम्परहित व्यवस्थित भवनहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

नेपाल सरकार, राक्सिराङ गाउँपालिका, जिल्ला शिक्षा समन्वय इकाईसहितको समन्वयमा जर्मनस्थित लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले विद्यालयका पक्की भवनहरु निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको हो ।

मंगलबार वडा नं ७ को दामराङमा निर्मित दामराङ आधारभूत विद्यालय भवन एक समारोहका बीच लिसा हिमालय इभी जर्मनीका अध्यक्ष डानिला झारिङ, नेपाल प्रतिनिधि स्टेफन र दीगो विकासका लागि एकता नेपालका तर्फबाट अध्यक्ष अच्युतप्रसाद पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष कुलबहादुर चेपाङलाई हस्तान्तरण गर्नु भएको थियो ।

भवन हस्तान्तरण तथा उद्घाटन समारोहमा ६ नं वडाका अध्यक्ष सिंगलाल चेपाङ, ७ नं वडाका अध्यक्ष कुुलबहादुर, संविधानसभाका पूर्व सदस्य गोविन्दराम चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल लगायतले बधाई तथा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सुरक्षित विद्यालय भवन निर्माण भएको भन्दै प्रमुख अतिथि एबम् राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले गैरसरकारी क्षेत्रबाट स्थानीय सरकारलाई शिक्षा क्षेत्रमा गरेको सहयोग अमूल्य रहेको बताउनुभयो ।

दामराङ आधाभूत विद्यालयमा ८ वटा कक्षाकोठासहितको भवनमा २ वटा व्यवस्थित शौचालय निर्माण गरिएको छ । त्यसैगरी शिशु स्याहार कक्षा पनि स्थापना गरी व्यवस्थित गएिको छ भने हरेक कक्षाकोठामा फर्निचर, ह्वाइटबोर्ड लगायतका सुविधाहरु राखिएका छन् । भवन निर्माणका लागि २ करोड ५७ लाख ९९ हजार रुपियाँ खर्च भएको समारोहमा जानकारी गराइएको थियो ।

दामराङ सहित लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालले वडा नं ६ को प्रजा कल्याण प्राथमिक विद्यालय, वडा नं ८ को जनज्योति आधारभूत विद्यालय, वडा नं ६ को जनसेवा प्राथमिक विद्यालयको भूकम्परहित पक्की भवन निर्माण गरिदिएको छ । टिकेढुंगा प्राथमिक विद्यालयको भवन निर्माणाधीन अबस्थामा रहेको लिसा हिमालय इभीका परियोजना संयोजक अन्जनप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विद्यालय भवन निर्माण कार्य लिसा हिमालय जर्मनीका अध्यक्ष डानिला झारिङ र नेपाल प्रतिनिधि स्टेफनको प्रत्यक्ष निगरानीमा निर्माण भएको हो । स्टेफन इन्जिनियर समेत हुन् । ‘विद्यालय भवनको आवश्यकता, निर्माण कार्यको तौरतरिका लगायत सबै बिषयहरु उहाँहरुकै निगरानी र सल्लाह बमोजिम पारदर्शी ढंगले गरिएको छ ।’

परियोजना संयोजक पौडेल भन्नुहुन्छ–‘चेपाङ बाहुल्य क्षेत्रमा आएर बास बस्ने र यहाँको आवश्यकता तथा बस्तुस्थितिलाई बुझेर मात्रै उहाँहरुले काम गर्नु भएको छ ।’ झारिङ र स्टेफन केही बर्षदेखि अधिकाँश समय राक्सिराङ गाउँपालिका केन्द्रित रहँदै आइरहनु भएको छ । उहाँहरु बर्षमा ३ महिनामात्रै जर्मनी पुग्ने गर्नुहुन्छ ।

तीनवटा वडामा शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत संस्थाले चेपाङ, तामाङ र दलित समुदायका सबै छात्राहरुलाई पोशाक तथा शैक्षिक सामग्री तथा सबै विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*