राक्सिराङमा आमाबुवा बचाऊ कार्यक्रम

तामसालिङ खबर
२४ कार्तिक २०७६, आईतवार ०९:०७

हेटौडा – मकवानपुरको दुर्गम क्षेत्रस्थित राक्सिराङ गाउँपालिकामा ६० बर्ष पार गरेका नागरिकहरुको स्वास्थ्य सुधारका लागि आमाबुवा बचाउ कार्यक्रम सुरु गरिएको छ । राक्सिराङ गाउँपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको साझेदारीमा आमाबुवा बचाऊ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

गाउँपालिका र प्रतिष्ठानबीच २०७६ सालदेखि २०७८ साल सम्म घर दैलोमै पुगी इन्टरनेटका माध्यमबाट ज्येष्ट नागरिक, असहाय र दीर्घरोगीहरुको उपचार गर्ने गरी आमाबुवा बचाउ कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र प्रतिष्ठानका प्राध्यापक डाक्टर पारस आचार्यले हस्ताक्षर गर्नु भएको छ ।

गाउँपालिकामा खटिएका स्वास्थ्य प्राविधिकहरुले दीर्घ रोगी, असहाय तथा ज्येष्ठ नागरिकहरुको घरमै पुगी इन्टरनेटको माध्यमबाट प्रतिष्ठानका डाक्टरहरुसँग भिडियो च्याटिङ गरी स्वास्थ्य उपचार र परामर्श लिइने व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

आमाबुवा बचाउ कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकामा छुट्टै शाखा स्थापना हुनेछ । शाखामा मोटरसाइकल, ल्यापटप र इन्टरनेट डिभाइस सहितका हेल्थ असिस्टेन्ट र अनमी सहितका तीनजना कर्मचारी हुनेछन् ।

ती कर्मचारीहरु रोगीको घरमा गएर इन्टरनेटको माध्यमबाट प्रतिष्ठानका डाक्टरहरुसँग सीधा कुरा गर्छन् र उपचारको व्यवस्था मिलाउँछन् । थप उपचार गर्नुपरेमा गाउँपालिकाले व्यवस्था गर्ने एम्बुलेन्सको सहायताले प्रतिष्ठानमै रिफर गर्ने गरी व्यवस्था मिलाइएको अध्यक्ष मल्ल बताउनु हुन्छ ।

साबिकका सरिखेत, राक्सिराङ, खैराङ र काँकडा गाविस मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साबिक गाविसतर्फ एक÷एक वटा स्वास्थ्य चौकी रहेका छन् । अधिकाँश चेपाङ, तामाङ र दलित समुदायको बसोबास रहेको गाउँपालिका स्वास्थ्य सेवाका लागि मनहरी, हेटौँडा र भरतपुर पुग्नुपर्ने बाध्यता रहँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*