पत्रकार प्रतीक ङेसुरको ‘तामाङ भाषा र लिपि’ पुस्तक सार्वजनिक

तामसालिङ खबर
२० कार्तिक २०७६, बुधबार १०:०२

कार्तिक, काठमाडौं – नेपाल तामाङ घेदुङका पूर्व महासचिव एवं पत्रकार प्रतीक ङेसुर तामाङको ‘तामाङ भाषा र लिपि’ पुस्तक मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । पूर्व कानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङले पुस्तक सार्वजनिक गरेका हुन् ।

तामाङ समुदायमा लिपिसँग सम्बन्धित विवाद चलिरहेको सन्दर्भमा तामाङले उक्त पुस्तक ल्याएका छन् । पुस्तकमा तामाङ भाषा लेखनमा नेपाल तामाङ घेदुङ, अखिल भारतीय तामाङ बौद्ध संघ लगायत संस्थाले प्रचलनमा ल्याएको ‘तामयिग’ तथा बौद्ध धर्म संस्कारमा प्रयोग हुने ‘सम्बोटा (उछेन)’ लिपिको प्रयोग कति व्यावहारिक छ भन्ने विषय समेटिएको छ ।

दुवै लिपिको प्रयोग गर्नेबारे वर्षौंदेखि चल्दैआएको विवाद अन्त्यका लागि समेत पुस्तकमार्फत लेखकले सरोकारवालाई सुझाएका छन् । ‘तामाङ समुदाय विगत २६ वर्षदेखि लिपिको विवादमा अल्झिरहेको छ,’ पुस्तक लोकार्पण समारोहमा लेखक तामाङले भने, ‘यही विवादका कारण विद्यालय तहका बालबालिकालाई अध्यापन गराउन आवश्यक पाठ्यपुस्तक तयार पार्न सकेका छैनौं । यसले तामाङ भाषाको संरक्षण र पुस्तान्तरण गर्ने कार्यमा ठूलो समस्या सिर्जना गरेको छ ।’

तामाङ भाषाको संरक्षणका लागि लिपिको विवाद तत्काल अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। तामयिग र सम्बोटा (उछेन) लिपि दुवै पक्षकाले अ–आफ्नो अडान त्यागेर सहमतिमा अगाडि बढ्नुपर्ने उनको तर्क छ । तामाङ भाषाका लागि अनुकूल हुने लिपिको छनोट वा नयाँ लिपिको विकास गर्नुपर्ने लेखक तामाङले बताए ।

पूर्वमन्त्री तामाङले तामाङ भाषा आफैंमा समृद्ध भाषा भएको बताए । पछिल्लो समय भाषा पुस्तान्तरणको क्रम घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसले भाषा लोप हुने खतरा बढेको बताए । तामाङ भाषा संरक्षणका लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्नेमा पूर्वमन्त्री तामाङले जोड दिए ।

पुस्तक तामाङ भाषा लिपि विकास केन्द्र ललितपुरले प्रकाशन गरेको हो । यसअघि लेखक तामाङका ‘तामाङ–नेपाली पकेट शब्दकोश’, ‘रेडियोमा तामाङ भाषा’ र ‘मुगाल जनजातिः एक अध्ययन’ पुस्तक प्रकाशित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*