मंसिर १४ मा हुने उपनिर्वाचनमा उम्मेदवारको योग्यतामा कडाइ

तामसालिङ खबर
१८ कार्तिक २०७६, सोमबार ०९:०२

कार्तिक १८, काठमाडाैं – आगामी मंसिर १४ गते हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन र स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०७६ तयारी गरी उपनिर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको योग्यतामा पनि कडाइ गरेको जनाएको छ ।

उम्मेदवार हुने व्यक्ति २५ वर्ष उमेर पूरा भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ । ‘लाभको पद’ भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनुपर्ने भनिएको छ ।

एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्नेछ । त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति हुनुपर्नेछ र उम्मेदवार, प्रस्तावक र समर्थकको नाम मतदाता नामावलीमा समावेश भएको निस्सासमेत मनोनयनपत्रसाथ संलग्न गरेको हुनुपर्नेछ ।

आयोगमा दलको औपचारिक पत्र पेस गर्नुपर्नेछ । दलले आफ्नो तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको पदाधिकारीलाई तोक्नुपर्नेछ ।

यसैगरी स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०७६ अनुसार स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख वा वडा अध्यक्ष पदका लागि उम्मेदवार हुन चाहने व्यक्ति नेपाली नागरिक भएको र २१ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख पदका लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकामा र वडा अध्यक्ष पदका लागि सम्बन्धित वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । कुनै व्यक्तिको मनोनयनपत्र पेस गर्दा वा गराउँदा फरक–फरक व्यक्ति प्रस्तावक र समर्थक रहेका बढीमा दुईवटा मनोनयनपत्र पेस गर्न वा गराउन सकिनेछ ।

उनीहरूको पनि मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । राजनीतिक दलबाट उम्मेदवार हुन चाहने व्यक्तिले दलको आधिकारिक पदाधिकारीको हस्ताक्षर भएको पत्र समावेश गर्नुपर्नेछ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*