सुकुटे बस दुर्घटना : मृत्यु भएका १७ मध्ये १४ को सनाखत (नामावलीसहित)

तामसालिङ खबर
१८ कार्तिक २०७६, सोमबार ०८:२२

कार्तिक १८, मेलम्ची – अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ मध्ये १४ को सनाखत भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रु बाहक बस सुनकोशी नदीमा खस्दा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक १७ मध्ये १० महिला, एक बालिका र पाँच पुरुषमा तीन बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सनाखत भएकाहरुमा मृत्यु हुनेमा दोलखा जिल्ला शैलुङ–६ की ५२ वर्षीया चेतकुमारी बस्नेत, शैलुङ–४ का छ वर्षीया सलिना तामाङ, शैलुङ–३ का तीन महिनाका बालक रोशन तामाङ, शैलुङ–३ कै २७ वर्षीया चमेली श्रेष्ठ रहेकी छिन् ।

त्यस्तै, ४५ वर्षीया रत्नकुमारी रावत, २९ वर्षीय किरण रावत, २० वर्र्षीया कविता रावत र १४ वर्षीय निखिल खड्का शैलुङ–५ का रहेका छन् । शैलुङ–४ का १४ वर्र्षीय दिल लामा, शैलुङ–३ का ३२ वर्षीया निर्मला खड्का, काभ्रेपलाञ्चोक रोशी–४ की पाँच वर्षीया सजिना तामाङ, दोलखाका ७० वर्षीया उरमाया तामाङ र भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसीको पनि मृत्यु भएको छ ।

त्यस्तै सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी–४ की छ वर्षीया माया श्रेष्ठ र तीन जना बालकको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिरहेका छन् । नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिए पनि बसभित्र कोही नभेटिएको प्रहरीको भनाइ छ । यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ ।

केही शवहरु खोलाले बगाएको अनुमान गरिएको छ । बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो । बसमा ४० बढी सवार रहेका थिए । सिन्धुपाल्चोकको स्थानीय अस्पताल खाडीचौरमा २० जनाको उपचार भइरहेको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा पनि घाइतेको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उहाँले अहिले पनि उद्धारकार्य जारी रहेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*