नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास

तामसालिङ खबर
५ कार्तिक २०७६, मंगलवार ०९:१७

कार्तिक ५, काठमाडौं – नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमवार शिलान्यास गरिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग शिलान्यास गरेका हुन् । आयोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा साँढे दुई वर्ष अघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरू भएको थियो । यसका लागि २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

प्रवेश मार्ग सहित ५.५६ किमी सुरुङमार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको आयोजनाका निर्देशक श्यामप्रसाद खरेलले बताए ।

उनका अनुसार आयोजना प्रभावित क्षेत्रमा मुआब्जा वितरणमै करीब ६ अर्ब खर्च हुनेछ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

धादिङको धुनिबेसी नगरपालिका – ९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि शुरू गरिने आयोजनाले जनाएको छ ।

यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक सुरुङमार्ग निर्माण हुन लागेको हो । उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*