काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यताको अध्ययन चीन सरकारले गर्ने

तामसालिङ खबर
२८ आश्विन २०७६, मंगलवार ०९:०४

असोज २८, काठमाडौं – बहुप्रतीक्षित काठमाडौं केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका दौरान यसमा चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी अमन चित्रकारले बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल-चीन अन्तरदेशीय रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो । चीनकै सहयोगमा पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ ।

ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुअघि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन गर्ने गरिन्छ । पूर्वसम्भाव्यता अध्ययनले उक्त रेलमार्ग निर्माण सम्भव देखाएको छ । त्यो अध्ययनलाई थप प्रभावकारी बनाउन सम्भाव्यता अध्ययन गर्न खोजिएको विभागले जनाएको छ ।

मन्त्रालयले सी भ्रमणकै बेला डीपीआरका लागि प्रस्ताव पेस गर्ने तयारी गरेको थियो । तर, तत्काल चीनले डीपीआरभन्दा सम्भाव्यता अध्ययनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको हो । मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीका अनुसार सम्भाव्यता अध्ययन गर्न चीनले रेलमार्ग निर्माण हुने क्षेत्रको नक्सा, जनसंख्या, घरटहरा, निकुञ्ज र जंगलको विवरण मागेको थियो ।

आवश्यक विवरण नेपाली पक्षले संकलन गरी चीनलाई हस्तान्तरण गरेपछि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढ्नेछ । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छापिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*