मकवानपुरको ८ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाई हुने

तामसालिङ खबर
१८ आश्विन २०७६, शनिबार ०९:४७

असोज १८, हेटौडा – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, भक्तपुरले मकवानपुरका ८ वटा सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा अध्यापनको लागि अनुमति दिएको छ । परिषदले शैक्षिक सत्र २०७६/७७ का लागि प्राविधिक एसएलसी र प्रमाणपत्र तह प्राविधिक, ३ बर्षे स्नातक प्राविधिक शिक्षाका लागि अनुमति दिएको हो ।

परिषदको आश्विन १४ गतेको निर्णयले प्राविधिक एसएलसी तहका लागि कैलाश गाऊँपालिकाको कालिका माविलाई पशुविज्ञान १८ महिने, हेटौडा–१५ को जनजागृति माविलाई अटो इञ्जिनियरिङ्ग १८ महिने, ३ बर्षे डिप्लोमा (स्नातक) का लागि हेटौंडा– ४ को भुटनदेवी माविलाई सिभिल इञ्जिनियरिङ्ग, हेटौंडा–१९ को निर्मल माविलाई इलेक्ट्रिकल इञ्जिनियरिङको अध्यापन अनुमति दिएको छ ।

त्यस्तै, हेटौंडा–२ को सिद्धार्थ माविलाई वनविज्ञान, हेटौंडा–१६ को जनप्रिय नमूना माविलाई इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, हेटौंडा–६ को बंशगोपाल माविलाई जियोमेटिक्स इञ्जिनियरिङ्ग र मनहरी गाऊँपालिका–८ को महेन्द्र किरण माविलाई बालीविज्ञानका कक्षाहरु सञ्चालन गर्न अनुमति प्रदान गरेको जनाएको छ ।

परिषदले मकवानपुर सहित देशका ७ वटै प्रदेशका विभिन्न सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा शिक्षण अनुमति दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*