असोज २४ र २५ गते ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ नेपालमा हुने

तामसालिङ खबर
१८ आश्विन २०७६, शनिबार ०७:२४

असोज १८, काठमाण्डौ – तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय तमू सम्मेलन हुने भएको छ । यही असोज २४ र २५ गते काठमाडौंमा हुने सम्मेलनको पूर्वराष्ट्रपति डा.रामवरण यादवले उदघाटन गर्ने परिषद्का अध्यक्ष रेशम गुरुङले बताउनु भयो ।

एकता, अस्तित्व र पहिचानलाई केन्द्रमा राखेर हुन लागेको सम्मेलनमा भारत, भुटान, हङकङ, बेलायत, अमेरिका, अस्ट्रेलिया, बेल्जियम, म्यानमार लगायत विश्वका विभिन्न ३३ देशमा रहेका गुरुङ संघ-संस्थाका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।

त्यस्तै परिषद्को देशभर ६३ जिल्लामा रहेका जिल्ला समिति, भ्रातृ संस्थाहरू, आबद्ध संस्थाहरूका समेत गरी सात सय प्रतिनिधि सहभागी हुने अध्यक्ष गुरुङले जानकारी दिए । दुई दिने सम्मेलनमा विभिन्न चार शीर्षकमा ६ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।

प्रा.डा. ओम गुरुङले आदिवासी जनजातिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आन्दोलन र तमू समुदायको सवाल, डा. गणेश गुरुङ र डा. सुमित्रा मानन्धर गुरुङले तमू समुदाय र आर्थिक समद्धि, डा. टेकबहादुर गुरुङले गुरुङ जातिको उत्पत्ति, पोल गुरुङले संस्कार तथा संस्कृति र बालनरसिंह गुरुङले खेमा लिपि विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सहभागी सबै देशका संस्थागत परिचय समेत रहने सम्मेलन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यमा काठमाडौं घोषणापत्र जारी गर्दै समापन हुने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*