‘नेपाली चेली’ पहिलाेपटक इंग्ल्यान्डको राष्ट्रिय टिममा

तामसालिङ खबर
१७ आश्विन २०७६, शुक्रबार ०८:५२

असोज १७, काठमाडौँ – बेलायती सेनामा गोर्खा पल्टनका रिटायर्ड अमृत आलेकी यी १७ वर्षीया छोरी अस्मिता आले इंग्ल्यान्डको कुनै पनि तहको राष्ट्रिय टिममा छनोट हुने पहिलो नेपाली मूलकी खेलाडी हुन् । तनहुँ, दमौलीका अमृत परिवारसहित सन् १९९४ बाट इंग्ल्यान्डमै बसोबास गर्छन् । उतै जन्मिएकी अस्मिता इंग्ल्यान्डको यू–१९ टिममा छनोट भएकी हुन् ।

अस्मिता आलेलाई इंग्ल्यान्ड यू–१९ टिममा बोलाइयो । घरेलु डिफेन्डर यूईएफए वुमेन्स यू–१९ च्याम्पियनसिप छनोटको पहिलो चरणमा साइप्रस, बेलारुस र सर्बियाविरुद्ध यो महिना सहभागी हुनेछिन् । इंग्ल्यान्डको क्लब एस्टन भिल्ला महिला टिमको फेसबुक पेजमा मंगलबार अपलोड गरिएको अस्मिता आलेको फोटोसँगैका यी तीन लाइनले बेलायतमा रहेका नेपाली समुदायमा मात्रै होइन, समग्र नेपाली फुटबलमै ठूलो महत्त्व राखेको छ।

तीन वर्षयता इंग्ल्यान्डको अन्य उमेर समूहको राष्ट्रिय टिमबाट नियमित खेलिरहेकी यी डिफेन्डर अहिले बेलारुस पुगेकी छन्, जहाँ उनको टिमले यूईएफए वुमेन्स यू–१९ च्याम्पियनसिप छनोटको पहिलो चरणमा प्रतिस्पर्धा गरिरहेको छ ।

आउँदो बुधबार सम्म हुने छनोटमा इंग्ल्यान्डले सर्बिया र आयोजक बेलारुस विरुद्ध खेल्दै छ र त्यसमा उनले मैदानमा उत्रिन पाउने आशा गरिएको खबर कान्तिपुर दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*