बोल मायालाई उछिन्दै, अझै ट्रेण्डिङमा ‘गलबन्दी’ (भिडियो)
हेटौडा – गायक तथा मोडल प्रकाश सपुतको चर्चित ‘बोल माया’ टिमले तयार पारेको ‘गलबन्दी’ ले युट्युब ट्रेण्डिङमा कायम राख्न सफल भएको छ । गीत सार्वजनिक भएको करिब एक महिना पुग्नै लागिसकेको अवस्थामा पनि अहिले यो गीत युट्युब ट्रेण्डिङको छत्तिस नम्बरमा छ । साथै यसले यस अघिको बहुचर्चित गीत ‘बोल माया’ लाई समेत भ्युजमा उछिनेको छ ।
मे २५ तारिखमा गायक प्रकाश सपुतकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीत युट्युबमा मात्र नभई टिकटक जस्ता अन्य सामाजिक सञ्जालमा पनि भाईरल भएको छ । यस गीतका शब्दहरुलाई लिएर चर्चित ट्रोलहरु निर्माण गरिनुका साथै फेसबुक जस्ता सामाजिक सञ्जालमा हरेक शब्दहरु स्टाटस बनेका छन् ।
यो सामाग्री तयार पार्दाको समयमा यस गीतको म्युजिक भिडियोले आफुलाई करोड क्लबमा उभ्याउन सफल भईसकेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस गीतमा १ करोड ३७ लाख ३१ हजार भन्दा बढी पटक हेरिसकिएको छ । ३ लाख ३६ हजार लाईक गीतले पाईसकेको छ । त्यस्तै करिब २७ हजार कमेन्टहरु भिडियोमा गरिएका छन् ।
गीतको म्युजिक भिडियोले फेरि एकपटक ‘बोल माया’ को कारुणिक दृश्यलाई सम्झाउँछ । नेपाली समाजको रोधी सँस्कृतिमा आधारित यस गीतलाई प्रकाशले बोल मायाको प्रिक्वेलको रुपमा निर्माण गरेका छन् । गीतमा प्रकाश सपुत र बोल मायामा सबैको मन जितेकी शान्ति श्री परियारको आवाज यसमा समावेश छ ।
गीतमा प्रकाशकै शब्द सँगीत छ । कृष्ण बिकको म्युजिक एरेञ्ज र ब्याकग्राउण्ड स्कोर रहेको गीतमा खर्क बुढा मगरले मादल र रत्न बिकले बाँसुरी बजाएका छन् । प्रकाशकै निर्देशनमा तयार भएको भिडियोमा प्रकाशसँगै बोल मायाकी चर्चित कलाकार अञ्जली अधिकारी, डिपलव विक र करविन गैरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । गलबन्दी भिडियो हेर्नुहोस –
यस अघि नै सन् २०१८ को मे १७ तारिखमा प्रकाशकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘बोल माया’ गीतको भिडियोले नेपाली साँगितिक क्षेत्रमा एउटा नयाँ उचाई प्राप्त गरेको थियो । ‘दोहोरी ब्याटल’ गाएर नेपाली युवाको मनमा बस्न सफल भइसकेका प्रकाशलाई यो गीतले सबैको प्यारो बनाउन सफल भएको थियो । उनको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो कयौँ दिनसम्म युट्युबमा नम्बर १ ट्रेण्डिङमा कब्जा जमाउन सफल भएको थियो ।
गीतको संगीत र शब्दलाई प्रकाशले जति मार्मिक बनाएका थिए त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारिएको थियो । उनीसहित नारायण रायमाझी र शान्ति श्री परियारको आवाज समावेश गीतको म्युजिक भिडियोमा उनको श्रीमतीको भूमिकामा अञ्जली अधिकारीले जीवन्त अभिनय गरेकी छिन् । बाध्यतामा कमाउन भनि विदेश गएका श्रीमान गुमाउनुको पिडा, धर्ती नटेकेको गर्भको निर्दोष शिशुले बुवाको मुख हेर्न नपाएका कारुणिक दृश्यलाई करन चैँसिरले क्यामेरामा कैद गरेका छन् । प्रकाशकै निर्देशनमा बनेको म्यूजिक भिडियोमा सितारे गन्धर्व तथा बालकलाकार डिपलभ वि.क. र खुशी थापाले रमाईलो अभिनय गरेका छन् । बोल मायालाई अहिलेसम्म १ करोड २४ लाख भन्दा बढी पटक हेरिएको छ । हेर्नुहोस् बोल माया भिडियो –
बोलामाया र गलबन्दीको समिक्षा भिडियो हेर्नुहोस-